को हुन् बारा-१ क प्रदेश सभामा सत्तागठबन्धका उम्मेदवार रमेश दंगाल ? यस्ता छन् एजेण्डा

मसंग यस क्षेत्रको विकास गर्ने मास्टर प्लान छ

972 shares

काठमाण्डौं–निजगढको कांग्रेसी राजनीतिका ‘भेट्रान’ को बीचमा लफडा हुदाँ प्रायः संवादको पुल बन्ने पात्र हुन्, रमेश दंगाल ।

सक्रिय पद नबसेपनि भूमिकामा सधैं अघि देखिने रमेश व्यापारसंगै कांग्रेसी राजनीतिको पर्दापछाडी बसेर काम गर्दै आएका छन् ।

बुवा कृष्णप्रसादको आदर्शबाट प्रभावित भएका रमेशको राजनीति सम्बन्ध पार्टीका स्थानीयदेखि केन्द्रसम्म छ । संकटका बेला कृष्णप्रसादले पार्टी उपसभापतिका रुपमा निजगढका कांग्रेसीलाई नेतृत्व दिएका थिए । जतिबेला कांग्रेसीको संख्या थोरै थियो ।

कम्यूनिष्टको लालकिल्लाका रुपमा रहेको निजगढका कांग्रेसीको संघर्ष नजिकबाट नियालेका रमेशका परिवार निजगढकै पुराना कांग्रेसी परिवारका रुपमा स्थापित छ । तर, कांग्रेस जोगाउन, हुर्काउन र फलाउन खटिएको त्यो परिवारले पहिलो पटक ‘टिकट’ पाएको छ । जसलाई पुरानालाई सम्मान गरेको अनुभूती अहिले त्यहाँका पुराना कांग्रेसी नेता, कार्यकर्ताले गर्न थालेका छन् ।

रमेश पुराना कांग्रेसीको विरासत र युवा पुस्ताको फ्यूजनका रुपमा कांग्रेसीलाई एक ढिक्का बनाउने बलियो माध्यम बनेका छन् । एकले अर्काको राजनीति सिध्याउने अवस्थामा पुगेका कांग्रेसीले सन्तुलन मिलाउन रमेश दंगाल गतिलो माध्यम बन्ने कांग्रेसी नेता–कार्यकर्ताले विश्वास लिएका छन् ।

कांग्रेसका शम्भु बहादुर बुढाथोकी र सुरेश कुमार खनालको मुख्य दाबी गरेको बारा क्षेत्र नं. १ (क) मा प्रदेश सभाको प्रत्यक्षतर्फ टिकट ल्याएर ‘सप्राईज’ दिएका रमेश कांग्रेससंगै सत्तारुढ गठबन्धनका नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी) र लोसपाका नेता–कार्यकर्ता र स्वतन्त्र मतदाताको मन जित्ने विश्वासमा छन् ।

राजनीतिलाई सेवाका रुपमा अघि बढाउने योजनामा रहेका रमेश दलिय व्यवहार नगरि विकासको नयाँ मोडल अघि बढाउने बताउँछन् । राजनीति अब जनताको समृद्धिको लागि गर्नुपर्ने भन्दै रमेशले त्यसका लागि योजना बनाएर अघि बढ्ने जनाएका छन् ।

निजगढका व्यवसायिलाई संगठित गर्ने कृष्णप्रसादको अभियानलाई छोरा रमेशले पछ्याएका छन् । बारा उद्योग वाणिज्य संघ निजगढका संस्थापक हुन्, कृष्णप्रसाद । रमेशले बारा उद्योग वाणिज्य संघ निजगढका कार्यबहाक अध्यक्षको जिम्मेवारीमा बसेर काम गरेका छन् । लायन्स क्लब अफ निजगढको उपाध्यक्षको रुपमा रमेशले काम गरेका छन् ।

उम्मेदवारका रुपमा निर्वाचन क्षेत्रका जनताको घरदैलोमा पुगेका रमेश जनताको अवस्थादेखि भक्कानिएका छन् । गरिब, दलित परिवारको घरबास, खानपिन, रोजगारी जस्ता अनेकौं समस्या देखेका रमेशले त्यो परिवारमा विरामी हुदाँ कसरी उपचार पाउँलान भन्ने कुराले भावुक बनाएको सुनाए ।

जनप्रतिनिधिका रुपमा जनताको आवाज बनेर काम गर्ने सोच बनाएका छन् । भौतिक विकासलाई द्रुत रुपमा अघि बढाउनुपर्ने अवस्था रहेको महसुस गरेका रमेशले शिक्षाको जग बलियो बनाउने गरि योजना अघि बढाउने पर्ने र युवा पुस्तालाई कृषिको आधुनिकरण र उद्यममार्फत रोजगारी सृजना गर्नुपर्ने उनका एजेण्डा छन् ।

बारा पर्यटकीय सम्भावना बोकोको ठाउँ भएकोले यसको विकासका सम्भावना खोजि गर्ने रमेशको योजना छ । निर्वाचन जितेपछि क्षेत्रको मास्टर प्लान बनाईने र त्यसै अनुसार अघि बढ्ने योजना रमेशले बुनेका छन् ।

फास्ट ट्रयाक र एयरर्पोट निर्माणका लागि पहरेदारी गर्ने र त्यो निर्माणसंगै प्राप्त हुने अवसरलाई समृद्धिसंग जोड्ने गरि योजना अघि सार्ने रमेश बताउँछन् ।