संसद भवन र सर्वोच्च अदालत परिसरमै समाजवादी कांग्रेसले संविधानको गर्यो विरोध
वि.सं.२०७९ असोज ३ सोमवार १४:१०

काठमाडौं–दोश्रो संविधानसभाले २०७२ मा जारी गरेको संविधान खारेज गर्नु पर्ने माग सहित आन्दोलनमा होमिएको नेपाल समाजवादी कांग्रेसले संविधान दिवसकै दिनको साईत पारेर आन्दोलनलाई थप उग्र बनाउने लक्षण देखाएको छ ।
हिन्दु राज्य र राजसस्था स्थापना सहित संघियताको खारेजीको माग राखेको सो पार्टीले आज असोज तीन गते निषेधित क्षेत्र तोड्दै संसद भवन अगाडी नयाँ बानेश्वरको पानी ट्यांकी छेउको आकाशे पुल छेउको आकाशे पुलमा असोज तीन कालो दिन, २०७२ को संविधान खारेज गरौ भन्ने वाक्य लेखिएको कालो ब्यानर टाँगेको छ ।
जुन भवन बाट संविधान जारी भयो त्यहि भवनको बलेसीमै संविधानको हुर्मत लिएर निषेधित क्षेत्र तोड्दा समेत पनि प्रशासनले मेसो समेत पाएन । यो समाचार तयार पार्दा समेत उक्त कालो ब्यानर हटाईएको छैन ।
नेपाल समाजवादी कांग्रेसका केन्द्रीय अध्यक्ष तथा ग्रेट हिमालय विचारका जन्मदाता, प्रजातन्त्रवादी नेता गोबिन्द प्रसाद निरौलाको नेतृत्वको टोलीले संविधानको अन्तिम व्याख्या गर्ने सर्वोच्च अदालतको बलेसी तथा नेपाल बार एसोसिएसनको मुखैमा पनि कालो ब्यानरसहित प्रदर्शन गरेको छ ।
पुरातत्व विभाग र स्वास्थ्य मन्त्रालय बिचको आकाशेपुलमा समेत नेपाल समाजवादी कांग्रेसले संविधानको धज्जी उडाएर कालो ब्यानर टाँगेको छ, जुन आहिले सम्म त्यहि छ ।
सुझबुझपूर्ण तरिकाले सामान्य ढंगले राज्यको मुटुमा ढ्यांग्रो ठोक्ने काम गरेको नेपाल समाजवादी कांग्रेस मंसिर ४ गते हुने निर्वाचन बहिष्कार गर्ने अभियानमा होमिएको छ । त्यसैको तयारी स्वरुप प्रतिकात्मक आन्दोलन गर्न थालिएको अध्यक्ष निरौलाको तर्क छ ।
पार्टी सचिव मान बहादुर गुरुङ, केन्द्रीय सदस्य चन्द्र पाण्डे, युवा फोर्सका अध्यक्ष सुनील कुमार श्रेष्ठ सहितको टीमले निशेषित क्षेत्रमा संविधानको विरोध गर्दै तुल टाँगेको अध्यक्ष निरौलाले जानकारी दिएका हुन् । निशेषित क्षेत्र तोड्नेलाई प्रमुख जिल्ला अधिकारीले जेल हाल्ने र जरिवाना भराउने कानूनी व्यबस्था छ ।
वि.सं.२०७९ असोज ३ सोमवार १४:१०
















