सीटीईभिटीको कार्यकारी निर्देशकमा शान्ति लामा नियुक्त
वि.सं.२०८१ पुस ११ बिहीवार २२:४१

काठमाडौँ-बागमती प्रदेश सरकारले नुवाकोटकी शान्ति लामालाई प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद् (सीटीईभिटी)को प्रमुख कार्यकारी निर्देशकमा नियुक्त गरेको छ ।
हेटौँडामा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री बहादुर सिंह लामाको गृह जिल्लासमेत रहेको नुवाकोट, म्यागङ गाउँपालिका-४ घर भएकी लामालाई कार्यकारी निर्देशकमा नियुक्त गर्न निर्णय गरेको हो ।
सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेका अनुसार नेपाली काँग्रेस नुवाकोटको महाधिवेशन समिति सदस्य लामा २०७४ मा म्यागङ गाउँपालिकाको उपाध्यक्ष थिइन् ।
सामाजिक विकास मन्त्रालयको प्रमुख कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले निर्देशक नियुक्तिका लागि ३ जना उम्मेदवारको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । समितिको संयोजक मन्त्रालयका सचिव बद्रीनाथ गैह्रे छन् ।
सिफारिस समितिले लामा, मध्यपुरठिमी नगरपालिकाका बद्रीप्रसाद दाहाल र चितवन भरतपुरका ईश्वरचन्द्र पौड्यालको नाम सिफारिस गरेको थियो ।
वि.सं.२०८१ पुस ११ बिहीवार २२:४१
















