चौथो ल्होछार कप नकाउट फुटबल प्रतियोगिता माघ ७ देखि हुने
वि.सं.२०८२ पुस ३० बुधवार २२:३५

बारा–बाराको निजगढ–१० लालस्थित बुद्धचोक मिनि रङ्गशालामा सञ्चालन हुने ल्होछार कप नकाउट फुटबल प्रतियोगिताको चौथो संस्करण माघ ७ देखि १७ गतेसम्म आयोजना गरिने भएको छ ।
योङ्ग स्टार क्लब लालको आयोजनामा हुने प्रतियोगिताको विजेताले दुई लाख १० हजार नगदसहित ट्रफि प्राप्त गर्ने छ भने उपविजेताले एक पाँच हजार नगदसहित ट्रफि प्राप्त गर्ने क्लबका अध्यक्ष आशिक लामाले जानकारी दिए ।
त्यसैगरि विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १० हजार, सर्वाधिक गोलकर्तालाई पाँच हजार र सर्वोकृष्ट गोल रक्षकलाई पाच हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई दुई हजार नगद प्रदान गरिने अध्यक्ष लामाले जानकारी दिए ।

प्रतियोगिताको १३ वटा फुटबल टिमले सहभागिता जनाउने भएको छ । जसमा आयोजक योङ्ग स्टार क्लबको ए र बी सहित मरिन, बर्दिबास, एभरेष्ट लालबन्दी, सलार्ही, रतनपुर युनाईटेड क्लब, निजगढ सिटी, एनएफसी, वीरगञ्ज, पर्सा राईडर र हेटौडा एकेडेमी रहेका छन् ।
मिनि रङ्गशालामा आयोजित पत्रकार सम्मेलनमा क्लबका सल्लाहकार कुमार मोक्तानले तामाङ्ग समुदायको गौरभमय पर्व सोनाम ल्होछारको अवसरमा ल्होछार कप सञ्चालन गरिदै आएको बताउँदै खेलमार्फत समुदायको पहिचान समेत स्थापित गराउन मद्दत पुगेको बताए ।
वडा नं. १० का वडा सदस्य समेत रहेका मोक्तानले सबैको सहयोगले प्रतियोगिता चौथो संस्करणसम्म आईपुगेको भन्दै प्रतियोगिताको माध्यमबाट स्थानीयदेखि राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्य रहेको बताए ।
त्यस्तै निजगढ वडा नं. १० का वडा सदस्य मेघराज वाईवाले प्रतियोगिता सञ्चालन र खेलमैदान निर्माणमा सहयोग गर्दै आएको बताए । उनले खेल सञ्चालनका लागि बजेट प्रयाप्त सहयोग गर्न नसकिएको भन्दै देश तथा विदेशमा रहेका नेपालीहरुको मायाले प्रतियोगिता चौथो संस्करणसम्म आईपुगेको बताए ।
उनले मधेस प्रदेश सरकारले खेल मैदानका लागि १५ लाख बजेट विनियोजन गरेको समेत जानकारी दिए ।
पत्रकार सम्मेलनमा सहभागि स्थानीय समाजसेवी ठुलोकान्छा घिसिङ्गले यूवाहरुले हरेक वर्ष प्रतियोगिता निरन्तरता दिईरहेको भन्दै सबैले सकेको सहयोग गर्ने विश्वास व्यक्त गरे ।
पत्रकार सम्मेलनमा क्लबका सचिव सुर्य घिसिङ्ग, सदस्य आशाराम भ्लोन, सुर्ज थिङ्ग, खेलप्रेमी भिम मोक्तान, सुर्यबहादुर वाईवा लगायत सहभागि थिए ।
वि.सं.२०८२ पुस ३० बुधवार २२:३५
















