देशलाई समृद्धिको नयाँ युगमा पुर्याउन वर्तमान सरकार कटिबद्ध छ –प्रधानमन्त्री दाहाल
वि.सं.२०८० वैशाख ९ शनिवार ०९:२४

काठमाडौं। जनतालाई सामाजिक न्यायको प्रत्याभूति गराउँदै देशलाई समृद्धिको नयाँ युगमा पुर्याउन सरकार कटिबद्ध रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।विश्व सर्वहारा वर्गका महान् नेता भ्लादिमिर इल्यिच लेनिनको १५३ औँ जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७४ औँ स्थापना दिवसको अवसरमा शएक सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले वर्गसंघर्ष र विचारधारात्मक संघर्षको लामो शृङ्खला एवम् विभाजन र एकताका अनगिन्ती अनुभवहरू हासिल गर्दै कम्युनिस्ट आन्दोलन आजको अवस्थामा आइपुगेको बताएका छन् ।

शुभकामना सन्देशमा उनले भनेका छन् आज नेपालमा कम्युनिस्ट पार्टीको नेतृत्व र पहलकदमीमा भएको ऐतिहासिक सङ्घर्षकै परिणामस्वरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समाजवाद उन्मुख नयाँ संविधानको सफल कार्यान्वयनका लागि हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेतृत्वको वर्तमान सरकार प्रतिबद्ध छ ।
अहिले देश विकास, समृद्धि, स्थिरता र सुशासनको व्यवहारिक अभ्यासको चरणमा प्रवेश गरेको बत्ताउँदै प्रधानमन्त्री प्रचण्डले शान्ति, समृद्धि र स्थायित्वको ऐतिहासिक जिम्मेवारी पूरा गर्ने दायित्व सरकारसामु रहेको बताएका छन् ।
वि.सं.२०८० वैशाख ९ शनिवार ०९:२४

















