सरकारले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने
वि.सं.२०७९ पुस २५ सोमवार १७:३४

काठमाडौं-सरकारले पुस २७ गते पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सोमबार सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले पुस २७ गते पृथ्वी जयन्ती दिन सार्वजनिक बिदा दिने उल्लेख गरे ।
सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा भनिएको छ, ‘नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने ।’
संवैधानिक राजसंस्था फर्काउने नीति बोकेर हिडेको राप्रपासमेत संलग्न सात दलीय सत्ता गठबन्धनले राप्रपालाई मनाउन यो प्रस्तावमा सहमति गरेको हो । राप्रपाले प्रचण्ड सरकारलाई विश्वासका मत दिन पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउनुपर्ने र सार्वजनिक बिदा दिनुपर्ने शर्त राखेको थियो ।
बहुलता, विविधता र बहुसांस्कृतिक सामाजिक विशेषतालाई नेपालको पहिचान, गौरव र सम्पदाको रूपमा स्थापित गर्ने । पर्यटनको समग्र विकासमार्फत् आर्थिक विकासमा टेवा पु¥याउने कार्यक्रम पनि सरकारको छ ।
नेपाली सभ्यता, भाषा, धर्म, संस्कृति र जातजातीको संरक्षण एवम् विकास गर्ने भन्दै सरकारले विविधता र बहुलतालाई नेपालको सम्पदाका रूपमा विकास गरिने भनिएको छ ।
वि.सं.२०७९ पुस २५ सोमवार १७:३४

















