शहीदको अपमान गरेको नभइ संसदीय मर्यादा कायम राखेका हौँ – राजेन्द्र लिङ्देन
सीके राउतले संसदीय मर्यादा विपरीत संसद्मा मौनधारण गर्न लगाए
वि.सं.२०७९ माघ ७ शनिवार १४:४०

काठमाडौं । मधेस आन्दोलनमा सहादत प्राप्त गरेका शहीदप्रति आफूहरूले अनादर गरेको भन्ने हल्ला फैलिएको भन्दै त्यसलाई रोक्न उपप्रधानमन्त्री एवम् उर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री राजेन्द्र लिङ्देनले माग गरेका छन्।
आज प्रतिनिधि सभाको बैठकमा लिङ्देनले संसदमा आफूहरूले नउठाएका विषयलाई बाहिर गलत रुपमा व्याख्या भइरहेको बताउँदै शहीदको अपमान गरेको नभइ संसदीय मर्यादा कायम गरेको बताएका छन्।
लिङ्देनले जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय मर्यादा विपरीत संसद्मा आफैँले शहीदहरूको सम्मान भन्दै मौनधारण गर्न लगाएको दाबी गरेका छन् । मधेसका शहीदहरूप्रति सरकार र संसद्ले सम्मान नगरेको भन्दै गत माघ ५ गते बसेको प्रतिनिधिसभा बैठकमा जनमत पार्टीका अध्यक्ष राउतले मौन धारण गर्न लगाएका थिए । त्यो काम संसदीय मर्यादा र नियम विपरीत भएकाले प्रधानमन्त्री पुष्पकमल दाहालसहित आफूहरूले मौन धारण गर्ने काममा सहभागी नभएको पनि उपप्रधानमन्त्री लिङ्देनले स्पष्ट पारेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका लिङ्देनले आफूहरूले सो क्रममा शहीदहरूलाई अनादर गरेको भनेर भ्रममा नपर्न पनि सबैलाई आह्वान गरे ।
उनले भने, ‘माघ ५ गते बैठक थियो त्यहाँ मधेस आन्दोलनमा सहादत प्राप्त गर्ने अथवा मधेसका शहीदहरूका प्रति सम्मान गर्ने जुन विषय उठेको थियो, यहाँ उठ्ने र नउठ्नेको विषय बाहिर प्रचारमा आइरहेको छ । सम्माननीय प्रधानमन्त्री अगाडि हुनुहुन्थ्यो । उहाँको उपप्रधानमन्त्री म थिए । हामी उठेनौँ । यसको अर्थ बाहिर के गइरहेको छ भने कि हामीले मधेस आन्दोलनमा सहादत प्राप्त गर्ने शहीदहरूका प्रति हाम्रो चाहिँ सम्मान छैन भन्ने अर्थमा प्रचार गरिराखिएको छ । तर संसद्को एउटा मर्यादा हुन्छ । एउटा नियम हुन्छ । र, रुलिङ सभामुखको चल्छ । यति कुरा पनि दोस्रो कार्यकाल संसद्मा आएको मैले बुझिन भने, म कुनै भावना वा बहानाले बगे भने त्यसले संसदीय परम्परामा रामो छाप छोड्दैन । कि त त्यो विषय सभामुखले रुलिङ गर्नुपर्यो । कि मेरो प्रधानमन्त्री उठ्नु पर्यो । त्यसकारण हामीले यो भ्रम नरहोस् । हामीले त्यो विषयप्रति अनादर गरेको होइन । मलाई लाग्छ प्रधानमन्त्रीले पनि गर्नु भएको होइन । यसरी गलत प्रचार जानु हुँदैन । हामीले संसदीय मर्यादा भङ्ग गर्नु हुँदैन भन्ने तथ्यलाई ध्यानमा राखेर हामी नउठेको हो भन्ने कुरा यो संसद्ले पनि बुझोस्, बाहिरी समाजले पनि बुझोस् भन्ने कुरा भन्न चाहन्छु । म त प्रधानमन्त्रीको तर्फबाट पनि भन्दैछु–यस ढंगले गलत कुरा लैजान पाइँदैन ।’
उपप्रधानमन्त्री लिङ्देनले सो घटनालाई लिएर प्रधानमन्त्रीले नै शहीदहरूप्रति अनादर गरेको भनेर गलत कुरा बाहिर लैजान नपाउने जिकिर समेत गरे ।
वि.सं.२०७९ माघ ७ शनिवार १४:४०
















