skip this farak Kura Pravakar

निजगढ नगरपालिकाको नयाँ बजेट पारित ! ८१ करोड १५ लाख ८६ हजारको बार्षिक बजेट पेस

2.2K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–निजगढ नगरपालिकाको विनियोजन विधेयक, २०८० तथा आर्थिक वर्ष २०८०/०८१ को बजेट बहुमतबाट पारित भएको छ ।

निजगढ नगरपालिकाको नगर सभाको बाह्रौं अधिवेशनको दोश्रो बैठक आईतबार बसेको थियो । सभाले निजगढ नगरपालिकाका उपप्रमुख तथा सभाकी उपाध्यक्ष सोममाया थिङले पेश गरेको बजेट पारित गरेको हो ।

नगरपालिकाका प्रमुख तथा नगर सभाका अध्यक्ष सुरथ पुरीको अध्यक्षतामा बसेको सभामा उपप्रमुख थिङ्गले ८१ करोड १५ लाख ८६ हजारको बार्षिक बजेट पेस गरेकी थिईन् ।

कुन शिर्षकमा कति बजेट

बजेटमा कृषी तथा सिंचाई क्षेत्रमा ३ करोड, शिक्षा क्षेत्रमा २ करोड ५७ लाख, स्वास्थ्य क्षेत्रमा २ करोड ३१ लाख, खानेपानी तथा सरसफाई क्षेत्रमा १ करोड २० लाख, भाषा, संस्कृती तथा कला क्षेत्रमा ७५ लाख, खेलकुद क्षेत्रमा ५० लाख, लैङ्गिक समानता तथा सामाजिक सुरक्षा क्षेत्रमा १ करोड ५९ लाख, पुर्वधार विकास क्षेत्रमा ८ करोड ५० लाख, सुचना तथा सञ्चार प्रविधी क्षेत्रमा १ करोड ३ लाख बजेट विनियोजित गरिएको छ ।


त्यसैगरि भुमी वन तथा वातावरण क्षेत्रमा १ करोड ६५ लाख, सुशासन, संस्थागत विकास र सेवा प्रवाह क्षेत्रमा १४ करोड, सहकारी क्षेत्रमा १५ लाख, उद्योग, उद्यमशीलता र रोजगारी क्षेत्रमा ७५ लाख, पर्यटन क्षेत्रमा ५० लाख बजेट छुट्याईएको छ ।

बजेट उपरको छलफलमा निजगढ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष विशन सापकोटा र वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिनाले समर्थन गरेका थिए ।

वडा अध्यक्षद्धयले गरे बहिष्कार

नगर सभाको बाह्रौं अधिवेशनको दोश्रो बैठकको दुई जना वडा अध्यक्षले बहिष्कार गरेका छन् । वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञानबहादुर गोले र १३ का वडा अध्यक्ष सूर्य घलानले कार्यपालिका बैठकमा भएको सहमति विपरीत बजेट प्रस्तुत भएको सभा बहिष्कार गरेको घोषणा गरे । वडा अध्यक्ष घलान सभा हलबाट बाहिरिएका थिए । वडा अध्यक्ष गोलेले विविध बाहेकका अन्य प्रस्तावहरु पास गरिने बताएपछि नगर प्रमुख पुरीले उक्त प्रस्ताव स्थगन गरिएको जानकारी सभामा गराएका थिए ।

सभामा नगर सभा सदस्य सागर गौतम, मिना सुनार, कुमार मोक्तान, शम्भु थोकरलगायतले विभिन्न सुझावहरु दिएका थिए ।

नगर प्रमुख तथा नगर सभाका अध्यक्ष पुरीले नगर सभाको जारी बाह्रौं अधिवेशनको तेश्रो बैठक आगामी भाद्र १० गते आइतवार बिहान बस्ने गरी बैठकको समापन गरेका थिए ।

अधिवेशनमा प्रमुख प्रशासकीय अधिकृत तथा नगर सभाका सचिव राजमणि निरौला, नगर सभाका सदस्यहरु, नगर कार्यपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरु, वडा सचिवहरु तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

nijgadh-supermart-adz1200-630