दक्षिण कोरियाबाट फर्किएर राजनीति थालेका २८ वर्षिय युवा बने निजगढमा वडा अध्यक्ष
वि.सं.२०७९ जेठ २ सोमवार २०:५४

बारा । बाराको निजगढका एक युवक राजनीति थालेको पाँच वर्षमा नगरकै महत्वपूर्ण वडाको नेतृत्वमा पुगेका छन् ।
पाँच वर्षअघि दक्षिण कोरियाबाट फर्किएर निजगढमा व्यवसाय र राजनीति अघि बढाएका २८ वर्षिय स्वर्ण लामा ‘सोनु’ स्थानीय तह निर्वाचनमा निजगढ नगरपालिकाको वडा नं. ८ को अध्यक्षमा निर्वाचित भएका छन् ।

२०६९ सालमा दक्षिण कोरिया पुगेका लामा ५ वर्ष बसेर गत निर्वाचनमा मतदान गर्न स्वदेश फर्किएका थिए । असोजमा भएको अधिवेशनबाट कांग्रेको वडा सचिवमा निर्वाचित भएका थिए । वैदेशिक रोजगारिबाट फेन्सी व्यवसाय थालेका उनले अधिवेशनको एक महिनाअघि व्यवसाय छाडेर पूर्ण रुपमा राजनीतिमा होमिएका थिए ।
नेपाली कांग्रेसबाट राजनीति गरिरहेका लामा स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धनबाट साझा उम्मेदवार बनेका थिए ।
एमालेले ‘हेबिवेट’ उम्मेदवारका रुपमा सहकारी अभियन्ता एवं पूर्व शिक्षक भोलाप्रसाद गौतमलाई अघि सारेको थियो । उनी हालै शिक्षण पेशाबाट अवकाश लिएका थिए । यी दुवैका उम्मेदवारीले चर्चा पाएको थियो ।
यसरी पाए टिकट
गत निर्वाचनमा नेपाली कांग्रेसका टेकबहादुर लामा निर्वाचित भएका थिए । पार्टीले उनलाई नै अघि सार्ने निधो गरेको भए पनि अन्तिम समयमा लामाले दाबी छाडे । वडामा नरेश घिमिरेको उम्मेदवारीको चर्चा थियो । उनले अन्तिम समयमा रुचि नदेखाएपछि पाएका थिए । लामा र घिमिरेले छाडेपछि स्वर्णले टिकट पाएका थिए ।
कति पाए मत ?
वडा अध्यक्षमा गठबन्धनका उम्मेदवार लामाले २ सय ९८ मतान्तरले विजयी भए । उनले ९ सय ७५ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार गौतमले ६७७ मत प्राप्त गरे ।

यी हुन् टिम
कांग्रेस नेतृत्वको वडा गठबन्धनमा माओवादीका दुई जना सदस्य पदमा लडेका छन् । स्वर्णसंगै कांग्रेसबाट प्रेमबहादुर घिमिरे खत्री र मनमाया लामा निर्वाचित भएकी छिन् । यी दुवैजना यसअघि पनि निर्वाचित भएकी थिईन् । माओवादीबाट सालिकाराम ढुंगाना र दलित महिला सदस्य पवित्रा सुनार निर्वाचित भएका छन् ।
गौतमले दिए बधाई
अध्यक्षमा निर्वाचित लामालाई एमालेका प्रत्यासी गौतमले सामाजिक सञ्जालमार्फत बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत हार, जित स्वभाविक भएको उल्लेख गर्दै विजयी भएका लामालाई बधाई दिएका छन् । उनले मतदाता प्रभावित पार्ने र स्वस्थ वातावरणमा निर्वाचनमा भाग लिने अवस्था बनाउन सरोकारवालाको ध्यान पुग्न नसकेकोमा दुख व्यक्त गरेका छन् ।

वि.सं.२०७९ जेठ २ सोमवार २०:५४

















