साना किसान कृषि सहकारी संस्था लि. डुमरवानाको ३० औँ वार्षिकोत्सव : विद्यालय र धार्मिक संस्थालाई सहयोग
वि.सं.२०८२ चैत १ आइतवार २२:०८

बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवाना स्थित साना किसान कृषि सहकारी संस्था लि. ले आफ्नो ३०औँ वार्षिकोत्सव तथा स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरेको छ।
कार्यक्रम अन्तर्गत संस्थाले विभिन्न सामाजिक तथा सामुदायिक उत्तरदायित्वका गतिविधिहरू सञ्चालन गरिरहेको छ।
वार्षिकोत्सवको पूर्वसन्ध्यामा आयोजित सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत संस्थाले डुमरवाना सेवा केन्द्र अन्तर्गत पर्ने जीतपुरसिमरा उपमहानगरपालिका–१५ नयाँबस्तीमा रहेको श्री जनकल्याण आधारभूत विद्यालयलाई भौतिक पूर्वाधार निर्माणका लागि एक ट्रिप करिब २ हजार थान इँटा सहयोग गरेको छ।

उक्त निर्माण सामग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण केसी र प्रधानाध्यापक गोकुल कुँवरलाई संस्थाका सञ्चालक समिति अध्यक्ष प्रदीप सिंह बरालले सो सामग्री हस्तान्तरण गरेका थिए ।
यसैगरी निजगढ सेवा केन्द्र अन्तर्गत निजगढ नगरपालिका–८ बकैयास्थित श्री सप्तऋषि सेवा समिति धर्मशालालाई खाद्यान्न सामग्री सहयोग गरिएको छ।
धर्मशालालाई ६ बोरा चामल, ५ लिटर तेल, आलु, प्याज, नुन लगायतका खाद्यान्न सामग्री प्रदान गरिएको हो। उक्त सामग्री धर्मशालाका अध्यक्ष विष्णु नेपाल, सचिव रामप्रसाद ओझा र धर्मगुरु अभिषेक ओझालाई संयुक्त रूपमा हस्तान्तरण गरिएको थियो ।
धर्मशालामा ७ जना बटुकहरू अध्ययनरत रहेको र विभिन्न धार्मिक कार्यक्रम सञ्चालन गर्दै आश्रम सञ्चालन गरिँदै आएको छ । संस्थाबाट प्राप्त खाद्यान्न सामग्रीले ठूलो राहत पुग्ने कुरा धर्मशाला अध्यक्ष विष्णु नेपालले बताईन् ।

त्यसैगरी निजगढ नगरपालिका–१० लालमा रहेको पाल्युल ताम्सेनलिङ गुम्बालाई पनि खाद्यान्न सामग्री हस्तान्तरण गरिएको छ । ३२ जना विद्यार्थी अध्ययनरत उक्त गुम्बालाई खाद्यान्न सहयोग प्रदान गरिएकोमा गुम्बाका गुरु साङ्गे छिरिङले संस्थाप्रति धन्यवाद व्यक्त गरेका छन् ।
संस्थाका अध्यक्ष प्रदीप सिंह बरालका अनुसार सप्ताहव्यापी कार्यक्रम अन्तर्गत चैत्र २ गते विभिन्न विद्यालयहरूमा शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम समेत रहेको छ ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग गरेर वार्षिकोत्सव मनाउँदै आएको संस्था मुख्य व्यवस्थापक प्रकाश रिमालले जानकारी दिएका छन् ।
कार्यक्रममा संस्थाका मुख्य व्यवस्थापक प्रकाश रिमाल लगायत कर्मचारी एवं संस्थाका सञ्चालकहरुको सहभागिता रहेको थियो ।
वि.सं.२०८२ चैत १ आइतवार २२:०८
















