नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लालको ४९ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
वि.सं.२०८० पुस १५ आइतवार २२:४५

बारा–बाराको निजगढ नगरपालिका बडा नम्बर १० लालस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको ४९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस शनिवार सम्पन्न भएको छ ।
मधेस प्रदेशका प्रदेश सभा सदस्य त्रिलोकी चौधरीले वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमको उद्घाटन गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सांसद चौधरीले विद्यालयको उन्नति र प्रगतिको लागि आफूले सक्दो सहयोग गर्ने बताए ।
कार्यक्रमकी विशिष्ठ अतिथि निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्गले नगरमा शिक्षा क्षेत्रको विकासको लागि नगरपालिकाले नयाँ योजनाका साथ काम गरिरहेको जानकारी दिईन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमिरी स्याङतानको अध्यक्षतामा भएको सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनानाथ साहले शैक्षिक र लेखापाल महेश घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यालयकी सवैभन्दा अनुशासित विद्यार्थीको रुपमा कक्षा नौमा अध्ययनरत छात्रा बुद्धिमाया थिङ्गसहित विद्यालयको शैक्षिक र अतिरिक्त क्रियाकलापमा विजयी छात्रछात्राहरुलाई पुरस्कृत र शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा नाटक, नृत्य लगायतका विभिन्न साँस्कृतिक प्रस्तुती समेत प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा वडा नं. १० का वडा अध्यक्ष आशाकाजी श्रेष्ठ, गौरीशंकर माध्यमिक विद्यालय निजगढ ८ का अध्यक्ष रविकुमार बर्तौला, प्रधानाध्यापक बद्रिनारायण झा, गौरीशंकर माध्यमिक विद्यालय सडकटोलका प्रधानाध्यापक यादवकुमार तिमल्सिना, सार्वजनिक माध्यमिक विद्यालयका अध्यक्ष दुर्गाप्रसाद गौतम, प्रधानाध्यापक हस्तबहादुर लामा लगायतको आतिथ्यता रहेको थियो ।
विद्यालयमा हाल ४ सय ५० विद्यार्थी अध्ययन गरिरहेका छन् ।
वि.सं.२०८० पुस १५ आइतवार २२:४५
















