७८ लाख अमेरिकी डलरको घर प्रकरण, छानविनमा मुछिए नेपाली सेनाका जर्नेल कार्की
वि.सं.२०७८ माघ १७ सोमवार १४:२७

काठमाडौं। अमेरिकास्थित नेपाली दूतावासले गरेका करोडौं रकमका आर्थिक कारोवारमा नेपाली सेनासमेत मुछिएका सूचनाहरु सार्वजनिक हुन थालेका छन्।
संसदको सार्वजानिक लेखा समितिले अमेरिकामा किनिएको ७८ लाख अमेरिकी डलरको घर प्रकरणको छानविनका क्रममा पनि नेपाली सेनाका जर्नेल मधुकरसिंह कार्की संलग्न भएको पाइएको एक स्रोतले बताएको छ।
पौने २८ करोडको सो ठेक्का प्रकरणमा तत्कालीन राजदूत अर्जुनकुमार कार्कीसहित तत्कालीन सैनिक सहचरी नेपाली सेनाका सहायक रथी मधुकरसिंह कार्कीको संलग्नता सार्वजानिक भएको थियो। उनी त्यहाँ गठित ‘घर खोज्ने समिति’को संयोजक बनेका छन् जबकि यो समिति नै नेपालको कानुन अनुसार अवैध हो। खासमा अमेरिकी दूतावासको लागि घर खरिदको प्रक्रिया २०७३ को पुसमै सुरु गरिएको थियो । त्यतिबेला घर खरिदका लागि टेण्डर आह्वान गरिएको थियो।
०७३ पुसमा टेन्डर आह्वान गरी भवन खरिदका लागि जारी प्रक्रिया टुंगोमा नपुग्दै तत्कालीन केपी ओली नेतृत्वको सरकारले ०७५ वैशाखमा सार्वजनिक खरिद ऐन र नियमावलीविपरीत विनाप्रतिस्पर्धा भवन खरिद गरेको थियो । त्यतिखेर एमाले नेता प्रदीप ज्ञवाली परराष्ट्रमन्त्री र अर्जुन कार्की अमेरिकाका लागि राजदूत थिए ।
यो टेन्डरमार्फत प्रतिष्पर्धाका आधारमा घर खरिद गर्ने योजना थियो। तर, २०७५ को बैशाखमा आइपुग्दा यो प्रतिस्पर्धात्मक प्रक्रियालाई यत्तिकै बीचैमा छोडियो। अगाडि बढिसकेको पुरानो प्रक्रियालाई बीचमै अलपत्र पारेर नयाँ प्रक्रिया सुरु गरियो। नयाँ सुरु गरिएको प्रक्रिया कानुन विपरित थियो । पुरानो प्रक्रिया अलपत्र पारेर २०७५ को बैशाखमा भवन खरिद गर्ने मन्त्रीस्तरीय निर्णय गरियो । यो नयाँ प्रक्रिया सुरु गर्ने निर्णय थियो। मन्त्रीस्तरीय निर्णय भएको २ दिनमै नियमविपरित एउटा अमुक समिति गठन गरियो जसको संयोजक जर्नेल कार्कीलाई बनाइयो ।
सैनिक सहचारी मधुकर कार्कीको संयोजकत्वमा भवन खोजी कार्य भएको लेखा समितिको अध्ययनमा देखिन्छ ।
वि.सं.२०७८ माघ १७ सोमवार १४:२७

















