१० हजारमा विदेश जाने व्यक्तिको रिपोर्ट समेत नेगेटिभ, अपराध महाशाखाद्वारा ४ जना पक्राउ
वि.सं.२०७८ माघ १९ बुधवार १३:१२

काठमाडौं । कोभिड–१९ परीक्षणबिनै पीसीआर रिपोर्ट बनाइदिने कार्यमा संलग्न अस्पतालका कर्मचारी तथा बिचौलियाहरु पक्राउ परेका छन्। मंगलबार महानगरीय अपराध महाशाखाको टोलीले चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा भक्तपुर मध्यपुर थिमीमा रहेको नागरिक कम्युनिटी हस्पिटल लिमिटेड र तिनकुनेस्थित कान्तिपुर अस्पताल प्रा.लि.का कर्मचारी तथा विचौलिया रहेका छन्। पक्राउ परेकाहरुको साथबाट नक्कली पीसीआर रिपोर्ट र रसिदका प्याडहरु बरामद भएको छ।
धनुषा घर भई ललितपुर ग्वार्को बस्दै आएका २५ वर्षीय रोशन कुमार छिट्टान, धनुषाकै गौशाला बस्ने २५ वर्षीय नगेन्द्र यादव, काभ्रे घर भई भक्तपुर बस्दै आएका २१ वर्षीय माधव मैनाली र सर्लाही घर भई भक्तपुर कौशलटार बस्दै आएका २४ प्रशन्न कुमार झा पक्राउ परेका हुन्।
झा भक्तपुर मध्यपुर थिमीमा रहेको नागरिक कम्युनिटी हस्पिटल लिमिटेडका ल्याब प्रबन्धक समेत हुन्। उनीहरुले नेपाल सरकारले तोकेको भन्दा अत्याधिक रकम लिएर नक्कली पीसीआर रिपोर्ट बनाइदिने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
महाशाखाका प्रमुख एवं प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त बहादुर कुँवरका अनुसार स्वाबको नमूना समेत नलिई नक्कली पीसीआर सिपोर्ट बनाइदिने गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी परिचालन गरी छापा मार्दा चारजना पक्राउ परेका हुन्।
‘कतिपयको स्वाब नै नलिई बनाइदिने र कतिपय नेगेटिभ आएका मान्छेको स्वाब लगेर रिपोर्ट तयार पार्दा रहेछन्,’ एसएसपी कुँवरले भने, ‘१० हजार रुपैयाँ लिएर स्वाब नै अर्कै मान्छेको हालिदिने गरेको समेत पाइएको छ।’
जबकी नेपाल सरकारले प्राइभेट अस्पतालहरुलाई एक हजार ५०० रुपैयाँ पीसीआर रिपोर्टको मूल्य तोकेको छ। त्यसैले अत्याधिक रकम लिएर नक्कली पीसीआर रिपोर्ट बनाउने गिरोहरुमाथि प्रहरीको निगरानी बढिरहेको छ।
सम्बन्धित व्यक्तिको उपस्थिति र स्वाबबिनै विचौलियाहरुले आफैले आफ्नो स्वाब संकलन गरी विभिन्न व्यक्तिका नाममा ल्याबमा दिने र ल्याबले सहजै पीसीआर रिपोर्ट उपलब्ध गराउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
‘उक्त ल्याबहरुमा कार्यरत भनिएका विशेषज्ञ चिकित्सकले रिपोर्ट नै नहेरी आफ्नो डिजिटल हस्ताक्षर गरेर रिपोर्ट दिने गरेको अनुसन्धानबाट खुलेको हो,’ कोइरालाले भने, ‘कतिपय पीसीआर पोजेटिभ देखिएका व्यक्तिहरुको ‘सिटी भ्यालु’ समेत तलमाथि गरी नेगेटिभ रिपोर्ट दिने गरेका रहेछन्।’
‘उनीहरुले होटल, घरमा पीसीआर रिपोर्ट डेलिभरि गर्ने गरेका रहेछन्,’ एसपी कोइरालाले भने, ‘नाम टिपाएको एकदेखि दुई घण्टामा रिपोर्ट बोकेर उनीहरु होटल वा घरमै पुग्दा रहेछन्।’
प्रहरीले रिपोर्ट बनाउन प्रयोग हुने कम्प्युटरलगायतका उपकरणसमेत नियन्त्रणमा लिएको छ। थप अनुसन्धान कार्यका लागि राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिको रोहबारमा दुवै अस्पतालको सेवा हाललाई बन्द गराइएको छ।
यस्तै नागरिक कम्युनिटी हस्पिटलका पीसीआर ल्याब सञ्चालक रौतहट घर भई भक्तपुर दुवाकोट बस्दै आएका ४० वर्षीय भावेश मिश्र र कान्तिपुर अस्पतालका पीसीआर ल्याब सञ्चालक ४० वर्षीय निर्मल गिरी फरार रहेका छन्। उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।
वि.सं.२०७८ माघ १९ बुधवार १३:१२

















