skip this farak Kura Pravakar

पल शाह प्रकरणमा बोल्यो मानवअधिकार आयोग

1.46K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले अभिनेता पल शाह प्रकरणमा गोपनीयताको हक संकुचित हुन सक्नेतर्फ संवेदनशील र संयमित हुन तथा स्वतन्त्र अनुसन्धान प्रक्रियालाई सघाउनसम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।
आयोगका सहायक प्रवक्ता लोकनाथ बास्तोलाले शुक्रबार जारी गरेको विज्ञप्तिमा गम्भीर प्रकृतिको फौजदारी अपराधको अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने गरी पक्ष र विपक्षमा समाचार सम्प्रेषण नगर्न, यस सम्बन्धमा सम्बन्धित व्यक्तिको अनुमति विना भिडियोहरु रेकर्ड नगर्न, रेकर्ड गरिएका भिडियोहरु सार्वजनिक नगर्न, अतिप्रचारका कारण प्रमाणहरु नष्ट हुनेतर्फ विचार पुर्याउन, आफूलाई प्राप्त प्रमाणहरु सार्वजनिक गर्र्नुको सट्टा अनुसन्धान अधिकारीहरुलाई उपलब्ध गराउन, कसैले पनि पक्ष र विपक्षमा अभिव्यक्ति नदिन, आफ्ना विचार र अभिव्यक्ति सम्प्रेषण गर्दा अरुको मर्यादामा आँच आउनेतर्फ विचार पुर्याउन पनि अनुरोध गरिएको छ ।

‘गम्भीर प्रकृतिको अपराधको अनुसन्धान फौजदारी न्यायको सिद्धान्त अनुसार गोप्य, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘अधिकारप्राप्त निकायबाट अनुसन्धान प्रक्रिया चलिरहँदा आरोपका पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्नाले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै अनुसन्धान प्रक्रिया समेत प्रभावित हुने सम्भावना रहन्छ । यस प्रकारका गतिविधिले नेपालको संविधानको धारा २८ को गोपनीयताको हक र धारा २० मा उल्लेखित न्याय सम्बन्धी हक, मुलुकी फौजदारी संहिताको दफा २९८, मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १२ र नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको धारा १७ मा व्यवस्था भएको गोपनीयताको अधिकार समेत प्रभावित भएको देखिन्छ ।’

शाहमाथि बलात्कारको आरोपमा तनहुँ प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा पक्ष र विपक्षमा भैरहेका प्रचारबाजी, प्रदर्शन तथा सार्वजनिक अभिव्यक्तिहरुप्रति आयोगले गम्भीर चासो राख्दै यसबारे बोलेको हो ।

nijgadh-supermart-adz1200-630