ने.वि.संघको ५७औं स्थापना दिवसमा निजगढमा वृक्षारोपण
वि.सं.२०८३ वैशाख ६ आइतवार २१:०४

बारा-नेपाल विद्यार्थी संघ (ने.वि.संघ) को ५७ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्थी संघ निजगढ नगर कार्य समितिले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा वडा नं. १३ का वडा अध्यक्ष सूर्य घलान, नेपाली कांग्रेसका युवा नेता विष्णु खड्का, बारा जिल्ला ने.वि.संघका उपसभापति अनिल खनाल, सदस्य लक्ष्मीप्रसाद तिमल्सिना, जनहित सामुदायिक वन उपभोक्ता समूह निजगढ–६/७ की अध्यक्ष चन्द्रिका मगर तथा श्रीकृष्ण प्रणामी युवा परिषद् बाराका अध्यक्ष मोहन सापकोटा लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम अन्तर्गत निजगढ नगरका दुई वटा वडामा वृक्षारोपण गरी स्थापना दिवस मनाइएको नेपाल विद्यार्थी संघले जनाएको छ । वातावरण संरक्षणमा टेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरू तथा स्थानीय युवाहरूको उत्साहजनक सहभागिता देखिएको थियो ।
नेपाल विद्यार्थी संघले स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
वि.सं.२०८३ वैशाख ६ आइतवार २१:०४
















