skip this farak Kura Pravakar

पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

2.61K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफपल्सर स्पोर्ट्स अवार्ड २०७७ को पिपल्स च्वाइस विधामा पर्न सफल खेलाडीको नाम सार्वजनिक गरेको छ । मञ्चको छनोट समितीले आइतबार विधामा टेबलटेनिसकी एलिना महर्जन, ब्याडमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका कुशल भुर्तेल र फुटबलकी एन्जिला तुम्बापो सुब्बालाई मनोनयन गरेको हो ।

मनोनयनमा पर्न सफल खेलाडीलाई मञ्चका सदस्य, २७ खेलका प्रमुख प्रशिक्षक र समर्थकले मतदान गर्नेछन् । धेरै मत ल्याउने खेलाडीलाई चैत ८ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने अवार्ड कार्यक्रममा विजेता घोषित गरिनेछ । मनोनयनमा पर्ने खेलाडीलाई समर्थकले विद्युतीय भुक्तानी माध्यम ई–सेवामार्फत मतदान गर्न सक्नेछन् । समर्थकको ५० प्रतिशत मतभार हुनेछ । त्यस्तै समर्थकले एनएएजेएफ पल्सर स्पोर्ट्स अवार्डको फेसबुक पेजमा गई मन पर्ने खेलाडीको तस्बिरमा लाइक गरेर पनि मत दिन सक्नेछन् । चैत ७ गते राती १२ बजेसम्म मतदान गर्न पाइने छनोट समितिका संयोजक गोविन्द रेग्मीले बताए ।

सामाजिक सञ्जाल फेसबुक पेजमा आएको लाइकको मतभार २५ प्रतिशत रहनेछ । त्यस्तै २७ खेलका प्रमुख प्रशिक्षक र खेल पत्रकारले दिने मतको मतभार समान १२.५ प्रतिशत हुनेछ । मञ्चले यसअघि नै एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको १८ औं सँस्करणलाई दशक अवार्डका रुपमा खेलाडीलाई सम्मान गर्ने घोषणा गरिसकेको छ । अन्य विधामा दशक अवार्डबाट खेलाडी सम्मानित हुने भए पनि पिपल्स च्वाइसलाई नियमित अवार्डका रुपमा राखिएको संयोजक रेग्मीले जानकारी दिए ।

‘‘कोरोना महामारीका कारण गत वर्ष नेपाली खेलाडीको अन्तर्राष्ट्रिय सहभागिता न्युन रह्यो । जसका कारण उनीहरूको प्रतिभा प्रदर्शन गर्ने मञ्च साँघुरियो । यद्यपि खेलाडीको मनोबल घट्न नदिन अवार्डलाई निरन्तरता दिन लागिपरेका छौं,’’ संयोजक रेग्मीले भने, ‘‘पिपल्स च्वाइस विधा भने यथावत् ढंगले नै हुनेछ । खेलाडीहरूको प्रदर्शन र सफलतासँगै ओझेलमा परेका प्रतिभाको पनि उच्च मूल्यांकन गर्दै उनीहरूलाई यस विधामा समेट्ने हाम्रो प्रयास हो ।’’

यसपटक पिपल्स च्वाइसबाहेक सर्वोत्कृष्ट दशक पुरुष खेलाडी, सर्वोत्कृष्ट दशक महिला खेलाडी, सर्वोत्कृष्ट दशक प्रशिक्षक हुनेछन् । त्यस्तै पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड भने नियमति रुपमा हुनेछन् । विगतमा जस्तै दशक खेलाडी पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस गरी चार विधाका विजेताले बजाज पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर पाउनेछन् ।

 

nijgadh-supermart-adz1200-630