जागिरको लोभ देखाएर असुली गर्ने ९ वटा ‘जब सेन्टर’ का सञ्चालक पक्राउ
वि.सं.२०७८ फागुन २३ सोमवार १२:२७

काठमाडौं । जागिर दिने बहानामा फाराम भराउँदै पैसा असुल्ने विभिन्न ९ वटा जब सेन्टरका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले आइतबार पक्राउ गरेको हाे ।
प्रहरीका अनुसार ती जब सेन्टरहरूले जागिर लगाइदिने भन्दै फाराम भराउने, केही दिनको ट्रेनिङसमेत दिने तर त्यसपछि वास्तै नगर्ने गरेको पाइएको छ ।
जागिर चाहिएमा सम्पर्क गर्नू भन्दै विज्ञापन गर्ने र विभिन्न बहानामा पैसा असुलेर बेवास्ता गर्ने गरेको अनुसन्धान अधिकारी बताउँछन् । कोटेश्वर, बानेश्वरलगायत ठाउँमा खुलेका जब सेन्टरहरूमा प्रहरीले छापा मारेको थियो ।
‘गाउँबाट आएका सोझा साझालाई जागिर दिने बहानामा ठगी गरेको पाइयो’, ती अनुसन्धान अधिकृतले भने ।
ती प्रहरी अधिकारीका अनुसार प्रतिव्यक्ति ५ सयदेखि ५ हजार रूपैयाँसम्म ठगिएको पाइएको छ।
उनले एउटा जब सेन्टरले त्यसरी काम गरेर मासिक १०/१५ लाख रूपैयाँ कमाउने गरेको बताए ।
वि.सं.२०७८ फागुन २३ सोमवार १२:२७

















