जंगली जनावरलाई थापेको पासोमा मान्छे परेपछि…
४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु
वि.सं.२०७८ चैत २ बुधवार ११:३३

डडेल्धुरा । जंगली जनावरलाई थापेको बन्दुकको पासोमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गन्यापधुरा गाउँपालिका–४ का ४५ वर्षीय दलबहादुर पान रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
मंगलबार राति गन्यापधुरा गाउँपालिका–५ स्थित पटौरा सामुदायिक वनमा जंगली जनावर मार्नका लागि थापेको पासोमा परेर पानको मृत्यु भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक देवेन्द्र पालले जानकारी दिए ।
उनले दलबहादुरको डडेल्धुरा अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको बताए। ‘भरुवा बन्दुकको पासोमा परेर उहाँको मृत्यु भएको देखिन्छ । पासो कसले थापेको हो भन्ने खुलेको छैन,’ डीएसपी पालले भने,‘यसबारेमा हामी अनुसन्धान गर्दैछौँ।’
उनको शव अस्पतालमा राखिएको छ । घटनामा संलग्न रहेको हुनसक्ने भन्दै ४ जनालाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको डीएसपी पालले बताए। नियन्त्रणमा लिइएकाहरूको परिचय भने खुलाइएको छैन।
वि.सं.२०७८ चैत २ बुधवार ११:३३

















