ओलीको घमण्डलाई स्थानीय तह निर्वाचनमा जनताले जवाफ दिन्छन्ः पर्यटन मन्त्री आले
वि.सं.२०७८ चैत ५ शनिवार १५:५२

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री प्रेमबहादुर आलेले स्थानीय तह निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्ने घमण्ड नगर्न एमाले अध्यक्ष केपी ओलीलाई चेतावनी दिएका छन्।
ओलीकै घमण्डका कारण वामपन्थीहरुको दुई तिहाई नजिकको संघीय सरकार ढलेको र प्रदेश सरकार पनि गुमाउनु परेको उल्लेख गर्दै मन्त्री आलेले स्थानीय तह निर्वाचनमा पनि ६० प्रतिशत जित हासिल गर्ने ओलीको घमण्डलाई नेपाली जनताले जवाफ दिने पनि बताए।
काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ओली नेतृत्वकै सरकारले नारायणहिटी संग्राहलय र पशुपतिमा रहेको धर्मशाला कौडीको मूल्यमा विचौलियालाई बुझाएको दावी गर्दै ओलीले अब घमण्ड गर्न नमिल्ने बताए।
नेकपा (एकीकृत समाजवादी)का नेता समेत रहेका मन्त्री आलेले ओलीमा महाभारतको दुर्योधनभन्दा पनि बढी घमण्ड चढेको तर जनताले त्यसको जवाफ आगामी निर्वाचनमा दिने बताए।
उनले भने, ‘आज कोही व्यक्तिको अहंकारले गर्दा संघको सरकार पनि गयो। प्रदेशको सरकार पनि गयो। अझै त्यो व्यक्तिले अब आउने वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा ६० प्रतिशत गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा जित्छु भन्ने जुन घमण्ड गरेको छ, त्यो घमण्ड मलाई कस्तो लाग्छ भने महाभारतको दुर्योधन र हाम्रो नेपालको राजनेता भनाउँदो केपी ओली दुइटैलाई दाज्यौँ भने अहंकारमा कुनै कमी छैन। तपाईंहरु मूल्यांकन गर्नुहोस्। जनताले आगामी वैशाख ३० गते जवाफ दिनेवाला छन्।’
वि.सं.२०७८ चैत ५ शनिवार १५:५२

















