एमाले बैठकस्थलमा कुटाकुट गर्ने पत्रकारबीच कागजी मिलापत्र
कसरी भयो कुटाकुट ?
वि.सं.२०७८ चैत ९ बुधवार १७:४७

काठमाडाैं । रिपोर्टिङका लागि पुगेका फोटो पत्रकारहरूको हात हालाहाल भएको भिडियाे सामाजिक सञ्जालमा भाइरल भएपछि आफ्नो गल्ती स्वीकार गर्दै अब यस्ता घटना नदोहोरिने जनाएका छन्।
याे पनि….
ब्याङ्क्वेटमा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु, बाहिर पत्रकारकाे कुटाकुट (भिडियाे)
कार्की बैङ्कटमा नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको रिपोर्टिङ गर्न पुगेका हिमालय टिभीका श्याम थापा र बाह्रखरी डटकमका हरिस जंग क्षेत्रीबीच हात हालाहाल भएको थियो।
दुवैलाई बोलाएर गरिएको छलफलमा उनीहरूले आफ्नो गल्ती स्वीकार गर्दै अब आइन्दा यस्तो नगर्ने प्रतिबद्धता जनाएका हुन्।
सो घटना सञ्जालमा भाइरल भएपछि राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्त र हिमालय टिभीका प्रशासन प्रमुख राजेश श्रेष्ठको मध्यस्थतामा दुवै पक्षलाई मिलाइएको बताईएको छ।

कसरी भयो कुटाकुट ?
मध्यान्ह १२ बजे एमालेको केन्द्रीय कमिटी बैठक शुरु हुनै लागेको थियो। नेताहरू आउने क्रम जारी थियो। मिडियाहरू धेरै आइसकेका थिएनन्।
अचानक हरिस क्षेत्री र श्याम थापा भिड्न थाले। नजिकै रहेका हिमालय टीभीकै अर्का पत्रकार विनोद थापा छुट्याउन गए। कस्सिएर भिडिरहेका उनीहरूलाई विनोदले छुट्याउन सकेनन्।
अन्तिममा दुई जना प्रहरी आए। एकअर्कोलाई समातेर जुधिरहेका दुवैलाई छुट्याउन प्रहरीलाई पनि हम्मे परेको थियो। हरिश क्षेत्रीले आफूलाई ‘पागल’ भनेकाले उसलाई हात हालेको श्याम थापाले बताए। यस विषयमा हरिश भने केही बोलेका छैनन्।
उनीहरुबीचमा झगडा भने नयाँ होइन। २७ पुसमा पृथ्वी जयन्तीको फोटो खिच्दा पनि विवाद भएको श्याम थापा बताउँछन्।
सिंहदरबारबाहिर पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रममा भिडिओ खिच्दा छेकिएको बारे झगडा भएको थियो।
दोस्रो पटक नेकपा माओवादी केन्द्रको कार्यक्रममा झगडा भएको घटना देख्ने पत्रकारहरू बताउँछन्। नेकपा माओवादीको महाधिवेशन अघि भएको एक कार्यक्रममा सामान्य वादविवाद भएको थियो।
बुधबार भने कुटाकुट नै भएको हो। उनीहरूबीच राजावादी, माओवादी र एमालेको कार्यक्रममा झगडा भइसकेको देख्नेहरु बताउँछन्।
वि.सं.२०७८ चैत ९ बुधवार १७:४७
















