क्यानडामा थोरै मात्रामा कोकिन बोक्नेलाई पक्राउ नगरिने !
वि.सं.२०७९ जेठ १९ बिहीवार ०७:२४

टोरोन्टो । क्यानडाले केही समयका लागि ब्रिटिस कोलम्बिया (बीसी) मा थोरै परिमाणमा केही अवैध लागु औषध बोक्नेलाई अपराधीको दर्जामा नराख्ने घोषणा गरेको छ ।
गत वर्ष लागु औषध प्रयोगको ओभर डोजका कारण हजारौँ व्यक्तिको ज्यान गएपछि यस प्रान्तले सरकारसँग यस्तो अवस्थालाई कानुनी छुटको माग गरेको थियो । क्यानडामा पहिलोपटक यसरी थोरै थोरै लागु पदार्थ बोक्न पाउने प्रावधानका लागि तीन वर्ष परीक्षण गरिने भएको छ ।
अबदेखि वयस्कहरूले कूल २ दशमलव ५ ग्राम बराबरको ओपीओइड्स, कोकिन, मेथाएम्फेटामाइन र एमडीएमए बोक्न पाउने भएको छ । यदि यस्ता लागु औषध यतिकै परिमाणमा निजी प्रयोजनका लागि बोकेको पाइएमा उनीहरूलाई प्रहरीले गिरफतार नगर्ने, कुनै अभियोग नलगाउने र ती पदार्थ जफत पनि नगर्ने भएको छ ।
बरु प्रहरीले उनीहरूलाई उपलब्ध स्वास्थ्य तथा सामाजिक सेवाहरूबारे सूचना प्रदान गर्ने छ । मानसिक स्वास्थ्य तथा दुर्व्यसन मामिलाका संघीयमन्त्री क्यारोलिन बेन्नेटले धेरै वर्षदेखि लागु औषधविरुद्धको सैद्धान्तिक विरोधका कारण धेरैको ज्यान गएको बताएकी छन् ।
क्यारोलिनले बताएकी छन्, “हामीले मानिसहरूको ज्यान बचाउन यो कदम उठाएका छौँ । साथै हामी दुर्व्यसनीहरूलाई लागु औषध वा सम्मानपूर्ण जीवनमध्ये एउटा छान्ने मौका पनि दिन्छौँ ।”
यसैगरी भ्यान्कोभरका मेयर केन्नेडी स्टबर्टले हतकडी लगाउन भन्दा स्वास्थ स्याहारलाई प्राथमिकता दिइने लागुऔषध नीति अनुरूप यो कदम उठाइएको बताएका छन् ।
-बीबीसी
वि.सं.२०७९ जेठ १९ बिहीवार ०७:२४

















