काे हुन् नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल ?
वि.सं.२०७९ असार ३१ शुक्रवार १७:३५

काठमाडौं-नेपाली काँग्रेस नेत्री पुष्पा भुसाल उपसभामुखमा निर्वाचित भएकी छन्। आजकाे प्रतिनिधिसभा बैठकमा उपसभामुखका लागि भएकाे निर्वाचनमा भुसालले नेकपा (एमाले) की भट्टराईलाई ५५ मतले पराजित गरेकी हुन्।
प्रतिनिधिसभामा एमालेका ९८, कांग्रेसका ६३, माओवादी केन्द्रका ४९, एकीकृत समाजवादीका २३, जनता समाजवादी २१, लोसपा १३ र अन्य साना दल र स्वतन्त्रसमेत गरी १ सय ७१ जना सांसद छन्। ती मध्ये १ सय ४८ सांसदले भुसाललाई मतदान गरेका थिए।
को हुन् उपसभामुख भुसाल ?
अर्घाखाँचीकाे पोखराथोककी भुसाल वि.सं. २०२८ सालदेखि राजनीतिमा सक्रिय छन्। नेपाली कांग्रेसको महिला विभाग, कानुन विभागमा लामो समय क्रियाशील उनीसँग नेपाल महिला संघको महासचिव भएर काम गरेकाे अनुभव पनि छ। महिला अधिकार र समानताको पक्षमा वकालत गर्दै आएकी भुसालले विश्वविद्यालयमा प्रध्यापन, कानुन व्यावसाय र राजनीतिलाई एकसाथ बढाएकी थिइन्। २०१७ साल फागुन १ गते जन्मिएकी भुसालले कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन्। त्रिभुवन विश्वविद्यालयमा १७ वर्ष प्रध्यापन गरेकी भुसाल वरिष्ठ अधिवक्ता समेत हुन्। उनमा कानुन व्यावसायका रूपमा काम गरेकाे अनुभव पनि छ।

भुसाल पारिवारिक पृष्ठमूमि राजनीति हो। उनी २०१५ सालको बीपी कोइरालाको मन्त्रिपरिषदमा स्वास्थ्यमन्त्री रहेका काशीनाथ गौतमकी छोरी हुन्। २०१७ सालमा पञ्चायत सुरु भएपछि गौतम १४ वर्ष सपरिवार भारत निर्वासित हुँदा पुष्पा पनि सँगै थिइन्।
२०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित भएर उनले संविधान निर्माणमा भूमिका खेलिन्। त्यसेबला उनले संविधान मस्यौदा समितिमा रहेर काम गरेकी थिइन्। २०६३ सालको अन्तरिम संविधान मस्यौदा समितिमा समेत कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्दै भूमिका निर्वाह गरेकी नेता हुन्, भुसाल।

दोस्रो प्रयासमा उपसभामुख
२०७४ सालको चुनावबाट समानुपातिक सांसदमा निर्वाचित भएर आएपछि भुसाल उपसभामुखको निर्वाचनमा उम्मेदवार थिइन्। २ चैत २०७४ मा भएको उपसभामुखको चुनावमा भुसाल सांसद शिवमाया तुम्बाहाम्फेसँग पराजित भएकी हुन्। तत्कालीन वाम गठबन्धनकी उम्मेदवार तुम्बाहाम्फे २०१ मत प्राप्त गर्दै विजयी हुँदा भुसालले ५८ मत प्राप्त गरेकी थिइन्। तर, शुक्रबारसम्म आइपुग्दा नेपालको राजनीतिक दलहरुको अवस्था, दलीय समिकरण र सरकार फेरियो ।
भुसालले उपसभामुखभन्दा मन्त्रीका लागि चाहना राख्दै आएकी थिइन्। नेताहरुकाअनुसार मन्त्री नभए प्रमुख सचेतक पाउनुपर्ने भुसालको दाबी थियो। तर, उपसभामुख संवैधानिक परिषदको सदस्य समेत रहने भएकाले भुसाललाई नै उपसभामुख बनाउनुपर्ने भनी प्रधानमन्त्री शेरबहादुर देउवाले नै प्रस्ताव राखेपछि उनले उम्मेदवारी दर्ता गराएका हुन्।
५१ वर्षदेखि राजनीतिमा
सांसदहरु उपसभामुखमा निर्वाचित भुसाललाई संघर्षशील नारीको संज्ञा दिन्छन् । एमालेकी सांसद विन्दा पाण्डेले विद्या भट्टराई उपसभामुखमा समर्थन गर्दै गर्दा पनि भुसालसँग एउटै मोर्चामा रहेर गरेका संघर्षहरु स्मरण गरिन् । न्यायका लागि बिभिन्न महिलाहरुको मोर्चामा रहेर संगसंगै लडेको सम्झिइन् ।
सांसद पाण्डेले भने जस्तै भुसाल प्रध्यापन, कानुन व्यावसाय र राजनीतिलाई एकसाथ बढाउँदै आएकी नेता हुन् । भुसालको पारिवारिक पृष्ठमूमि पनि राजनीतिक छ । २०१५ सालको बीपी कोइरालाको मन्त्रिपरिषदमा स्वास्थ्यमन्त्री रहेका काशीनाथ गौतमका छोरी हुन भुसाल ।
वि.सं.२०७९ असार ३१ शुक्रवार १७:३५

















