सांसद पद खारेजीको मागसहित रवि लामिछानेविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता
वि.सं.२०७९ मंसिर २८ बुधवार १५:१६

काठमाडौं। सांसद पद खारेजीको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। आज युवराज पौडेलले लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्।
सांसद पद खारेज हुनुपर्छ भनेर मुद्दा दर्ता गरेको पौडेलले बताएका छन् । रिटमा लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ। रिटमा लामिछानेलाई सांसदको रूपमा सपथ नखुवाउन माग दाबी गरिएको छ।
यसअघि युवराजकै नेतृत्वमा लामिछानेको नागरिकता खारेज गर्न माग गर्दै गृहमन्त्रालयमा उजुरी परेको थियो। चितवन २ बाट प्रतिनिधि सभामा निर्वाचित लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नयाँ नेपाली नागरिकता नलिएको विषयमा विवाद बढेको छ। यही विषयलाई ध्यानाकर्षण गराउँदै आफूले मुद्दा दायर गरेको युवराजले बताएका छन्।रिटको पेशी पुस ६ गतेका लागि संवैधानिक इजलासमा तोकिएको छ।
वि.सं.२०७९ मंसिर २८ बुधवार १५:१६

















