रतनपुर क्षेत्रमा वन्यजन्तुको प्रकोप नियन्त्रणका लागि सर्वपक्षीय छलफल, यस्ता छन् निर्णय
वि.सं.२०७९ पुस १८ सोमवार १८:३०

बारा-बाराको निजगढ नगरपालिकाको रतनपुर क्षेत्रमा वन्यजन्तुले घरपालवा चौपाय र किसानको बाली खाएर क्षेति पुर्याएपछि निजगढ नगरपालिकाले वन्यजन्तुबाट हुने क्षति न्युनीकरणको लागि सोमबार सर्वपक्षीय छलफल कार्यक्रमको आयोजना गरेको छ ।
पछिल्लो समय रतनपुर क्षेत्रमा वन्यजन्तुले घरपालुवा चौपाय मारेर खाने क्रम बढेपछि चिन्तित बनेका स्थानीय बासिन्दाको आग्रहमा नगरपालिकाले छलफल कार्यक्रमको आयोजना गरेको हो ।
पर्सा वन्यजन्तु निकुञ्जका कर्मचारी, जनप्रतिनिधि, स्थानीयबासिन्दा र सञ्चारकर्मीसमेतको सहभागितामा भएको सो छलफल कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ११, १२ र १३ मा पर्ने रतनपुर क्षेत्रमा वन्यजन्तुले पुर्याएको क्षतिबारे पीडित स्थानीयले जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै वडा नम्बर ११ का वडा अध्यक्ष सहइया गुरोले पर्सा वन्यजन्तु निकुञ्जको क्षेत्र विस्तार गरिएसंगै रतनपुर क्षेत्रमा बाघ, हात्ती र बदेल जस्ता वन्यजन्तुले स्थानीयले पालेका चौपाय मार्ने र अन्नबालीमा क्षति पुर्याउने क्रम बढेको बताए । उनले वन्यजन्तुबाट पुगेको क्षतिमा आरक्षले किसानलाई अहिलेसम्म कुनै राहतको व्यवस्थान गरेको बताउँदै प्रकोप न्यूनीकरणको लागि योजना बनाएर काम गर्न आग्रह गरे ।
त्यसैगरी वडा नम्बर १३ का वडा अध्यक्ष सूर्यबहादुर घलानले पछिल्लो एक वर्षभित्र उक्त क्षेत्रमा बाघले एक दर्जनभन्दा बढी चौपाय मारेर खाएको जानकारी दिँदै वन्यजन्तुको प्रकोप नियन्त्रणको लागि आरक्ष कार्यलयले प्रभावकारी काम गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै पर्सा वन्यजन्तु निकुञ्जका वार्डेन मनोज रामले निकुञ्जको जंगलमा बाघको संख्या बढेको जानकारी दिदै वन्यजुन्तको प्रकोप नियन्त्रणको लागि स्थानीयले अपनाउनुपर्ने उपायको बारेमा सुझाएका थिए । उनले वन क्षेत्रसँग जोडिएका देशभरिका बस्तिमा यस्तो समस्या रहेको पनि बताए ।

छलफलले नगर क्षेत्रमा देखा परेको जंगली जनावरको प्रकोप न्युनीकरणको लागि स्थानीय तह र अन्य सरोकारवाला निकायहरुको समन्वयमा निकुञ्जले चेतनामूलक कार्यक्रम संचालन गर्ने, वन्यजन्तुको प्रकोप रोकथाम गर्न आरक्षको सीमा क्षेत्रभित्र पर्ने बस्तिहरुमा सुरक्षाकर्मीको नियमित र प्रभावकारी गस्ति संचालन गर्ने तथा समस्याको दीगो समाधनको लागि दीर्घकालीन योजना निर्माण गर्ने र निकुञ्ज बाहिरको क्षेत्रमा घाँस दाउरा संकलन गर्न जाने स्थानीयलाई निकुञ्जले सहयोग, समन्वय र सहजीकरण गर्ने निर्णय भएको छ ।
त्यस्तै निजगढ नगरपालिका क्षेत्र भित्र पर्ने राष्ट्रिय निकुञ्ज आसपासका बस्तीहरुमा जंगली जनावरको आक्रमणलाई न्यूनीकरणका लागि नियमित रुपमा सुरक्षा गस्ती गर्ने तथा मानविय क्षति, घरपालुवा पशुको क्षति, बालिको क्षति भएमा सम्बन्धित निकायको सिफारिसमा पर्सा राष्ट्रिय निकुञ्जबाट तत्कालै क्षतिपूर्ति उपलव्ध गराउने निर्णय भएको छ ।
त्यस्तै जंगली जनावरको आक्रमणबाट नागरिकहरुको जनधन संरक्षण एवं सो समस्याको समाधानका लागि पर्सा राष्ट्रिय निकुञ्जले स्थानीय तह लगायत सरोकारवाला निकायहरु सँगको सहकार्यमा दीर्घकालिन योजना निर्माण गर्ने निर्णय समेत भएको छ ।
त्यस्तै पर्सा राष्ट्रिय निकुञ्ज बाहिरका क्षेत्रमा रहेका मानवबस्तीबाट पशुपालनका लागि घाँस काट्ने एवं खाना पकाउने प्रयोजनका लागि दाउरा संकलन कार्य गर्दा राष्ट्रिय निकुञ्जले सहयोग, समन्वय एवं सहजीकरण गर्ने निर्णय भएको छ ।
त्यस्तै निजगढ नगरपालिका क्षेत्र भई बग्ने शक्ति खोला, लाल/भक्तलाल खोलामा नदीजन्य पदार्थ थुप्रिई बाढिबाट खेतीयोग्य जमिन, वनजंगल, मानववस्तीमा क्षति पुग्ने भएकोले पर्सा राष्ट्रिय निकुञ्ज र निजगढ नगरपालिकाको समन्वय एवं सहकार्यमा नदी नियन्त्रण एवं व्यवस्थित तटबन्धन निर्माण कार्य गर्ने निर्णय भएको छ ।
नगर प्रमुख सुरथ पुरीको अध्यक्षतामा भएको सो कार्यक्रममा उपप्रमुख साममाया थिङ्ग, निकुञ्जका प्रमुख सेनानी मुक्तिविक्रम शाह, नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत सुमन धिताललगायतको सहभागिता रहेको थियो ।
वि.सं.२०७९ पुस १८ सोमवार १८:३०


















