१२ किलो गाँजासहित बारामा तीन जना पक्राउ
वि.सं.२०७८ कात्तिक १७ बुधवार १७:५०

बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाबाट अवैध लागू औषध गाँजासहित तीन जना पक्राउ परेका छन् । पक्राउ परेका तीनै जना मकवानपुरको राक्सिराङ्गका हुन् ।
पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ्ग गाउँपालिका २ का २३ वर्षिय सुमन रुम्बा, २० वर्षिय बिजय थिंग र १९ वर्षिय अखिल मोक्तान रहेको बारा प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय जितपुर बाराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई जितपुरसिमरा उपमहानगरपालिका वडा नं.७ स्थित टेढा रोडबाट पक्राउ गरेको हो ।
सडकमा शंकास्पद अवस्थामा उभिरहेको देखेपछि प्रहरीले उनीहरुको साथमा बोकेको झोला चेकजाँच गर्दा झोलामा लुकाई छिपाई राखेको अवस्थामा अवैध गाँजा फेला परेको थियो ।
झोलामा ४ पोकामा गरी १२ के.जी. अवैध लागू औषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
पक्राउ परेका तीनै जनालाई लागू औषध मुद्दामा बारा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।
वि.सं.२०७८ कात्तिक १७ बुधवार १७:५०
















