skip this

माओवादी केन्द्रको बन्दसत्र आज

1.48K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को बन्दसत्र सोमबार बिहान ११ बजेदेखि प्रज्ञा भवनमा सुरु हुने भएको छ ।
    आइतबार उद्घाटनसत्र​ सम्पन्न गरेको माओवादीले कमलादीस्थित प्रज्ञा भवनमा बन्दसत्र गर्न लागेको हो । उद्घाटन सत्रको समापनको अवसरमा उद्‌घोषक समेत रहेका स्थायी समिति सदस्य जनार्दन शर्माले बन्दसत्र​को बारेमा जानकारी दिएका थिए ।
    बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुनेछ ।
    विचारको महाधिवेशनको रुपमा चित्रण गरेको माओवादीको बन्दसत्रमा कूल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन् ।
   सबै क्लस्टर मिलाउँदा त्यो सङ्ख्यामा अझै केही वृद्धि भएको बताइएको छ ।
    सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी छन् । बन्दसत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने कार्यक्रम छ ।
   माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरेको छ ।
    कमलादीस्थित हलमा नै बन्दसत्र आयोजना गरिने भए पनि हलको क्षमता भन्दा बढी प्रतिनिधि भएपछि व्यवस्थापनमा चुनौती थपिएको छ ।  
   राजनीतिक प्रतिवेदन, विधान पारितसँगै नयाँ नेतृत्वको चयन गर्ने कार्यसूची रहेको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए। 
   राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादीले शनिबार मात्रै महाधिवेशनमा रुपान्तरण गरेको थियो । आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले शनिबार स्थायी समितिले गरेको निर्णयलाई अनुमोदन गरेको थियो ।
    नेपाली मौलिकतासहितको समाजवाद निर्माण गर्ने जनाएको माओवादीले बन्दसत्रलाई व्यवस्थित बनाउन आवश्यक तयारी गरिएको उल्लेख गरेको छ ।

nijgadh-supermart-adz1200-630