बाक्लो हुस्सुका कारण आन्तरिक उडान प्रभावित : ८ वटा विमानस्थल अवरुद्ध, बुद्ध एयरको जहाजमा एक यात्रु आकाशमै बेहोस
वि.सं.२०७८ माघ ६ बिहीवार १२:३१

नेपालमा खराब मौसमका कारण आन्तरिक हवाई उडानहरु प्रभावित भएका छन् । बिहीबार बिहानैदेखि लागेको बाक्लो हुस्सुका तथा हिमपातका कारण तराई क्षेत्रका तीन वटा र हिमाली क्षेत्रका पाँच वटा विमानस्थल खुल्न सकेका छैनन् ।
त्रिभुवन विमानस्थलका अनुसार विराटनगर विमानस्थल, भरतपुर विमानस्थल र भैरहवा विमानस्थल खराब मौसमकै कारण अहिलेसम्म खुल्न सकेका छैनन् । यता सिमरा विमानस्थल भने मौसममा क्रमिक सुधार भएसँगै यस्तै, लुक्ला, फाप्लु, सिमीकोट, डोल्पा र रारामा भन हिमपातका कारण उडानहरु प्रभावित भएका छन् ।
यी क्षेत्रहरुको भिजिविलिटी एक हजार मिटर भन्दा कम रहेकाले उडानमा समस्या आएको विमानस्थलको भनाइ छ । उडान सुचारु हुन कम्तिमा पनि १६०० देखि २००० मिटर सम्मको भिजिबिलिटी आवश्यक पर्छ । काठमाडौंको अवस्था ठीक रहेको छ भने जनकपुर, नेपालगञ्ज, चन्द्रगढी, सुर्खेत, पोखरा र तुम्लिङटार विमानस्थलको अवस्था सामान्य रहेको छ ।
अहिलेसम्म प्रभावित गन्तव्यहरुमा जाने आउने गरी करिब दुई दर्जन उडान प्रभावित भएको हुनसक्ने अनुमान छ ।
यसैगरी काठमाडौंबाट नेपालगञ्ज उडेको बुद्ध एयरको जहाजमा एक यात्रु बेहोस भएका छन् । जहाजमा ६९ जना यात्रु थिए । बुद्ध एयरका अनुसार काठमाडौंबाट ७:४४ मा उडेको उडान नं ४५१ जहाज निर्धारित समयअनुसार ८:४४ मा अवतरण हुनुपर्ने थियो ।
तर, नेपालगञ्ज विमानस्थलको मौसम प्रतिकुल नभएपछि आकाशमै जहाज होल्डमा पर्यो । जहाज बिहान ९:१८ मा अवतरण भएको थियो । सो क्रममा एक महिला यात्रु बेहोस भेटिएको र उनलाइ बुद्ध एयरको एम्बुलेन्सबाटै नेपाल आर्मीको अस्पतालमा लगिएको छ ।
वि.सं.२०७८ माघ ६ बिहीवार १२:३१
















