skip this farak Kura Pravakar

अमलेखगञ्जमा ६ लेन सडकको अतिक्रमण हटाइयो, स्थानीय तहको सक्रियता

771 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–त्रिभुवन राजपथ अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका–२१ र २२ मा पर्ने अमलेखगञ्ज क्षेत्रमा ६ लेन सडकको दायरा अतिक्रमण गरी सञ्चालनमा आएका अस्थायी टहरा, व्यापारिक संरचना तथा अव्यवस्थित निर्माणहरू हटाइएको छ ।

सो कार्यको नेतृत्व जीतपुरसिमरा उपमहानगरपालिकाले लिएको हो भने, अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नगर प्रहरीको समन्वयात्मक सहकार्य रहेको थियो । सडकको सवारी सुरक्षामा प्रतिकूल असर पुर्‍याउने गरी निर्माण गरिएका टहरा, फड, पसल, सामग्रीहरू हटाउने कार्य बुधबार बिहानदेखि सुरु गरिएको हो।

उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले जानकारी दिँदै भने, “सडक सबैको हो । त्यसको सरसफाइ, व्यवस्थापन र सुरक्षाका लागि हामी सबै जिम्मेवार छौं । अतिक्रमणमुक्त सडक र स्वच्छ सहर निर्माण हाम्रो अभियान हो ।”

उक्त क्षेत्रमा नियमित रुपमा हुने ट्राफिक जाम, पैदल यात्रुका लागि पैदल यात्री हिड्न सहज नहुनु, तथा सडक सुरक्षामा आएको चुनौतीका कारण यस्तो अभियान सञ्चालन गरिएको नगरप्रहरी स्रोतले जानकारी दिएको छ।

‘सडक हाम्रो – जिम्मेवारी पनि हाम्रो’ भन्ने नारासहित गरिएको यस अभियान अन्तर्गत अव्यवस्थित संरचना हटाइ सडकलाई सहज र सुरक्षित बनाउने लक्ष्य लिइएको छ ।

जीतपुरसिमरालाई सफा, सुन्दर र व्यवस्थित उपमहानगर बनाउन सबै नागरिकको सहभागिता आवश्यक रहेको उपमहानगरपालिकाले जनाएको छ ।

स्थानीय बासिन्दा तथा सवारी चालकहरूले पनि यो कदमको स्वागत गरेका छन् । उनीहरूको भनाइमा, यसबाट सहर थप व्यवस्थित र यात्रा थप सुरक्षित बन्ने विश्वास गरिएको छ।

nijgadh-supermart-adz1200-630