ॐ समाज डेण्टल हस्पिटलको पाचौं शाखा ललितपुरको चापागाउँ दोबाटोमा भव्य उद्घाटन
वि.सं.२०८२ भदौ १९ बिहीवार १७:४८

ललितपुर-ॐ समाज डेण्टल हस्पिटलको पाचौं शाखा ललितपुरको चापागाउँ दोबाटोमा भव्य उद्घाटन गरिएको छ ।
उद्घाटन समारोहमा चलचित्र कलाकार संघका केन्द्रीय अध्यक्ष तथा चर्चित कलाकार दिपक निरौला प्रमुख अतिथिमा रहेका थिए, भने विशेष अतिथि तथा विशिष्ट पाहुनाका रूपमा विभिन्न चलचित्रकर्मी, प्रतिष्ठित कलाकार, संचारकर्मी, समाजसेवी र जनप्रतिनिधिहरू सहभागी भएका थिए ।

कार्यक्रममा दन्त रोग विशेषज्ञ डाक्टर सुभाष घिमिरेले आफ्नो मन्तव्य राख्दै दाँतलाई मानव शरीरको स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको अत्यन्त महत्वपूर्ण अंगको रूपमा व्याख्या गरे । घिमिरेले भने,‘दाँत राम्रो भए मात्र शरीर सफा र स्वस्थ रहन्छ । यदी दाँतको स्वास्थ्य उपेक्षा गरियो भने, यसले मुखमै सीमित समस्या सिर्जना गर्दैन, बरु पेट, मुटु, मिर्गौलालगायतका अन्य अंगहरूमा समेत गम्भीर असर पुर्याउन सक्छ । त्यसैले दन्त स्वास्थ्यलाई सामान्य विषय भनेर हेर्नु हुँदैन, यसलाई सम्पूर्ण शारीरिक स्वास्थ्यको मूल आधारका रूपमा बुझ्नुपर्छ ।’

घिमिरेले दन्त अस्पतालको शाखा स्थापना समाजकै लागि ठूलो उपलब्धि भएको भन्दै आधुनिक प्रविधि र दक्ष जनशक्तिबाट सुसज्जित यस अस्पतालले केवल उपचार मात्र नभई दन्त स्वास्थ्यको सचेतना फैलाउने अभियानलाई पनि अघि बढाउने विश्वास व्यक्त गरे । घिमिरेले भने,‘शरीर स्वस्थ राख्न नियमित खानपान, सफाइ, व्यायाम जति आवश्यक छ, त्यति नै वा अझ बढी दाँतको सरसफाइ र समय – समयमा डाक्टरको सल्लाह लिनु जरुरी हुन्छ । मानिस मुस्कानले सुन्दर देखिन्छ, तर त्यो मुस्कान दाँत राम्रो हुँदा मात्र सम्भव हुन्छ ।’ घिमिरेले भने,‘हामीले ॐ समाज डेण्टल हस्पिटलको पाँचौँ शाखा ललितपुरको चापागाउँ दोबाटोमा स्थापना गरेका छौँ । यो केवल अस्पताल मात्र होइन, यो समाजलाई सचेत बनाउने, भविष्यलाई सुरक्षित बनाउने र पुस्तौँसम्म स्वास्थ्यप्रति जिम्मेवार दृष्टिकोण कायम गराउने अभियानको थालनी हो । यहाँ अत्याधुनिक उपकरण, नवीनतम प्रविधि, दक्ष र अनुभवी जनशक्ति उपलब्ध छन् । यस संस्थाले दन्त उपचार मात्र होइन, विद्यालय – विद्यालयमा, समुदाय – समुदायमा, टोल – टोलमा गएर दन्त स्वास्थ्यबारे सचेतना फैलाउने योजनासमेत अघि सारेको छ । यस कारण यस संस्थाको स्थापना केवल एक अस्पताल खोलिएको घटना मात्र होइन, यो समाजकै लागि ठूलो उपलब्धि हो ।’
कार्यक्रममा प्रमुख अतिथि दिपक निरौलाले भने,‘स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो भन्ने कुरा हामीले बारम्बार सुनेका छौँ, तर प्रायः हामीले स्वास्थ्य भन्नासाथ दाँतलाई बेवास्ता गर्ने प्रवृत्ति देखिन्छ । यो अस्पताल स्थापना हुनु भनेको हाम्रो सोच परिवर्तन गर्ने एउटा ऐतिहासिक कदम हो । म विश्वास गर्छु, यो अस्पतालले उपचार मात्र होइन, चेतना पनि फैलाउने छ ।’
कार्यक्रममा वरिष्ठ पत्रकार तथा समाजसेवी राजन थापाले सम्पूर्ण कार्यक्रमलाई संयोजन गर्दै ॐ समाज डेण्टल हस्पिटललाई आगामी दिनमा अझ सफल, प्रभावकारी र जनमैत्री बनाउन सबैको समर्थन र सहयोग आवश्यक रहेको बताए । थापाले भने,‘दन्त स्वास्थ्य भन्नाले केवल अस्पतालको जिम्मेवारी मात्र होइन, यो सम्पूर्ण समाजको सामूहिक जिम्मेवारी हो । हामी सबैले आफैँ सजग हुनुपर्छ, छोराछोरीलाई सजग बनाउनु पर्छ, विद्यालयमा यसबारे शिक्षा दिनुपर्छ र यसलाई जीवनशैलीको हिस्सा बनाउनु पर्छ ।’
कार्यक्रममा बोल्दै अन्य अतिथिहरूले पनि ॐ समाज डेण्टल हस्पिटलको यो नयाँ शाखा समाजकै लागि आशीर्वाद बनेको उल्लेख गरे ।
वि.सं.२०८२ भदौ १९ बिहीवार १७:४८

















