बारा १ मा नेकपाद्धारा शक्ति प्रदर्शन ! निजगढदेखि सिम्रौनगढसम्म विशाल मोटरसाईकल र्याली
वि.सं.२०८२ फागुन १८ सोमवार २२:०१
बारा-बारा १ मा नेकपाद्धारा शक्ति प्रदर्शन, निजगढदेखि सिम्रौनगढसम्म विशाल मोटरसाईकल र्याली निकालेको छ । नेपाली कम्युनिष्ट पार्टी नेकपाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बारा निर्वाचन क्षेत्र नम्बर १ मा सन्तोष दंगाललाई अघि सारेको छ ।
युवा उम्मेदवारका रुपमा रहेका दंगालले आफ्नो चुनावी प्रतिबद्धता पत्र अठोट पत्र सार्वजनिक गरेर चुनावी मैदानमा छन् । चुनावी प्रचार प्रसारको अन्तिम दिन दंगालले निकालेको मोटरसाईकल र्यालीमा हजारौंको सहभागिता रहेको थियो । ¥यालीलाई सम्बोधन गर्दै उम्मेदवार दंगालले जेनजी आन्दोलनको भावना र जनअपेक्षालाई सम्बोधन गर्दै सुशासन, उद्योग र प्रविधिमैत्री शिक्षालाई आफुले मुख्य एजेन्डा बनाएको बताएका छन् ।
दंगालले आफ्नो प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली र सांसदहरूलाई विशुद्ध नीति तथा कानुन निर्माणमा केन्द्रित गराउने प्रस्ताव अघि सारेका छन् । उनले विज्ञहरू सम्मिलित सानो आकारको मन्त्रिमण्डल र प्रदेश तथा संघमा मन्त्रीहरूको संख्या घटाउन पहल गर्ने अठोट गरेका छन् ।
यसैगरी, निजगढका जनताको सुविधाका लागि निजगढमै मालपोत र नापी कार्यालय स्थापना गर्ने र मिटरब्याजी पीडित र सुकुम्वासी समस्या समाधानका लागि विशेष पहल गर्ने उनको प्रतिवद्धता छ ।
बलियो अर्थतन्त्र समृद्ध अभियान अन्तर्गत दंगालले स्थानीय रोजगारीमा जोड दिएका छन् । प्रत्येक पालिकामा कम्तीमा १ हजार रोजगारी सिर्जना गर्ने र औद्योगिक ग्राम स्थापना गर्ने उनको योजना छ । साना व्यवसायीलाई सहुलियत ऋण, कर छुट र इन्नोभेसन हबुको स्थापना गर्ने र स्थानीय उत्पादनलाई व्यावसायिक ब्रान्डका रूपमा प्रवद्र्धन गर्ने उनको अठोट छ ।
दंगालले परम्परागत शिक्षाको साटो ुसीपमूलक श्रम र प्राविधिक शिक्षाुमा जोड दिएका छन् । विद्यालय तहदेखि नै एआई आर्टिफिसियल इन्टेलिजेन्स, कोडिङ, र डिजिटल मार्केटिङ जस्ता पाठ्यक्रम लागू गर्ने, निजगढमा फुटबल र आदर्शकोतवालीमा क्रिकेट रङ्गशाला निर्माण गरी खेलकुद क्षेत्रको विकास गर्ने र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई मताधिकारको व्यवस्था गर्न र उनीहरूका समस्या समाधान गर्न पहल गर्ने उनको अठोट छ ।
जनप्रतिनिधिसम्म जनताको पहुँच सहज बनाउन दंगालले सिम्रौनगढ-आदर्शकोतवालीका लागि सिम्रौनगढमा, बारागढी-कोहल्वीका लागि कोहल्वीमा र निजगढका लागि निजगढमै सम्पर्क कार्यालय स्थापना गर्ने बाचा गरेका छन् साथै, जंगली जनावर हात्ती, बाघ, बँदेलबाट हुने क्षति रोक्न र पीडितलाई उचित राहत दिलाउन संसदमा आवाज उठाउने उनको अठोट छ।
आफ्नो पाँच वर्षे कार्यकालमा पूर्वाधार, शिक्षा, स्वास्थ्य र सिँचाइ क्षेत्रमा आमूल परिवर्तन ल्याउने उनको दाबी छ ।
वि.सं.२०८२ फागुन १८ सोमवार २२:०१

















