प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिविरुद्ध प्रतिपक्षी दलहरूको कडा आपत्ति
वि.सं.२०८३ जेठ १८ सोमवार १४:४६

प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री बालेन शाहले व्यक्त गरेको सीमासम्बन्धी भनाइप्रति प्रतिपक्षी दलहरूले कडा असन्तुष्टि जनाएका छन्। सोमबार बसेको प्रतिपक्षी दलहरूको संयुक्त बैठकले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता लिएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने निष्कर्ष निकालेको छ।
बैठकपछि नेकपाका प्रमुख युवराज दुलालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्रीले संसद्मा व्यक्त गरेको धारणा राष्ट्रिय हितविपरीत रहेको बताएका छन्। उनका अनुसार प्रतिपक्षी दलहरूले उक्त अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउन तथा प्रधानमन्त्रीले संसद्मार्फत देशवासीसँग माफी माग्नुपर्ने माग अघि सारेका छन्।
दुलालले मागहरू सम्बोधन नभएसम्म संसद्को बैठक अवरुद्ध गर्ने निर्णय भएको जानकारी दिए। उनले सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीको भनाइलाई ‘राष्ट्रघाती’ भन्दै त्यसप्रति गम्भीर आपत्ति जनाएका छन्।
प्रतिपक्षी दलहरूको भनाइअनुसार प्रधानमन्त्रीले आफ्नो टिप्पणी सच्याएर माफी नमागेसम्म संसद्को नियमित कार्यसूची अघि बढ्न नदिने रणनीति अपनाइनेछ।
वि.सं.२०८३ जेठ १८ सोमवार १४:४६

















