निजगढको मुख्य चोक अन्धकारमा, दुई महिनादेखि बिग्रिएको सडक बत्ती मर्मतमा स्थानीय सरकार उदासीन
मधु श्रेष्ठ
वि.सं.२०८३ जेठ २१ बिहीवार ०९:५४
291shares
फोटो साभार दिपक सापकोटा
निजगढ, बारा । निजगढ नगरको मुटु मानिने शहीद चोक क्षेत्र दुई महिनादेखि अन्धकारमा डुबेको छ। चोकमा जडान गरिएका सडक बत्ती लामो समयदेखि बिग्रिएर सञ्चालनविहीन हुँदा सर्वसाधारण, व्यवसायी तथा सवारी चालकहरू समस्यामा परेका छन्।
स्थानीयवासीका अनुसार सडक बत्ती नबल्दा रातिको समयमा आवागमन असुरक्षित बन्दै गएको छ भने दुर्घटना तथा आपराधिक गतिविधिको जोखिमसमेत बढेको छ। यति महत्वपूर्ण स्थानमा रहेको सार्वजनिक पूर्वाधार मर्मतका लागि सम्बन्धित निकायले आवश्यक चासो नदिएको भन्दै स्थानीयहरू असन्तुष्ट बनेका छन्।
सामाजिक अभियन्ता दिपक सापकोटाले सडक बत्ती बिग्रिएको विषयमा सम्बन्धित निकायलाई सामाजिक सञ्जालमार्फत पटक–पटक जानकारी गराए पनि स्थानीय सरकारले यसलाई गम्भीर रूपमा नलिएको आरोप लगाएका छन्। “शहीद चोक जस्तो व्यस्त र महत्वपूर्ण स्थान दुई महिनादेखि अन्धकारमा रहँदा पनि जिम्मेवार निकाय मौन देखिनु दुःखद कुरा हो,” उनले बताए।
स्थानीयहरूले सडक बत्तीको शीघ्र मर्मत गरी नागरिकको सुरक्षा र सहज आवागमन सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। नागरिकका गुनासा र सुझावलाई बेवास्ता नगरी तत्काल समस्या समाधानतर्फ अग्रसर हुनुपर्ने उनीहरूको भनाइ छ।
निजगढको प्रमुख व्यापारिक तथा आवागमन केन्द्रका रूपमा रहेको शहीद चोकमा आधारभूत सेवासमेत प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा स्थानीय सरकारको कार्यशैलीमाथि प्रश्न उठ्न थालेको छ। अहिले स्थानीयवासीहरू समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइरहेका छन्।