बेवारिसे आमा–बच्चा प्रकरण : नारी अस्मितामाथि प्रहार गर्न किन हत्तारिन्छ समाज ?

शिशु माग्नेका लर्को, अब के गर्छ प्रहरीले ?

2.8K shares

१६ साउन विहानैदेखि निजगढ आसपासका सामाजिक सञ्जाल प्रयोगकर्ताले एक नाबालकको तस्विर भाईरल गरे । त्यसको भोलीपल्ट एक महिलाको तस्वीरले त्यसैगरि सामाजिक सञ्जालको भित्ता भरे ।

घटना १, बेवारिसे शिशु

बारा र रौतहटको सिमानमा पर्ने धन्सार पुल नजिकको सडकबाट बेवारिसे अवस्थामा एक शिशुको फेला प¥यो ।
पुल नजिकको सडकबाट उद्धार गरिएको शिशुलाई कलैयास्थित प्रादेशिक अस्पतालमा चिकित्सकको निगरानीमा राखिएको छ । सडकबाट उद्धार गरेलगत्तै अस्पताल लगिएको शिशुको स्वास्थ्य अवस्था सामान्य छ ।

घटना २, बेवारिसे आमा
बच्चा फेला परेको स्थान नजिक रोएर हिडिरहेको अवस्थामा प्रहरीले चार महिने शिशुको आमालाई उद्धार गरेको छ । जंगलको बीचमा पर्ने सडकमा महिला रोएर हिडिरहेको खबर पाएपछि पुगेको ईलाका प्रहरी कार्यालय निजगढको टोलीले महिलालाई उद्धार गरी अस्पताल पु¥यायो ।
निजगढमा उपचारपछि महिला तथा बालबालिका सेल जिम्मा लगाउन कलैया लगिएको छ । शिशु र आमालाई कलैयास्थित प्रादेशिक अस्पतालमा राखिएको छ ।

को हुन् शिशु र आमा ?
प्रहरीका अनुसार उद्धार गरिएकी महिला भारत मोतिहारीकी हुन् । महिलाले आफ्नो घर मोतिहारी रहेको र श्रीमानले आफूसहित शिशुलाई ल्याएर जंगलमा छाडेको बयान दिएकी छिन् । श्रीमानले आफूलाई र शिशुलाई छुट्टाछुट्टै स्थानमा छोडेर जानकारी दिएकी छिन् ।

पानीले भिजेको अवस्थामा फेला परेकी महिलाको शारीरिक र मानसिक अवस्था कमजोर देखिएको प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । श्रीमानले जंगलको बीचमा छाडेर हिडेपछि महिला आफ्नो सन्तान खोज्दै हिडेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

तातोपानी खुवाउँदै नेपाल प्रहरी ।

महिलाले दिएको जानकारी अनुसार प्रहरीले उनको माइती पक्षलाई खबर गरेको छ । उद्धार गरिएकी महिलालाई प्रहरीले मंगलबार फेला परेको शिशुको तस्विर देखाएपछि उनि रुन थालेकी थिईन् । उनले आफ्नो छोरालाई भेटाईदिन प्रहरीलाई आग्रह गरेकी थिईन् ।

कसरी आईपुगिन नेपाल ?
ईलाका प्रहरी कार्यालय निजगढमा फरक नेपालसंगको सम्वादमा २४ तारिकका दिन भारतबाट रौतहटको नुनथर दर्शन गर्न भनेर पति गुड्डु सिंहले नेपाल ल्याएका थिए । गुड्डुले सितामडीबाट साथीको गाडीमा नेपाल ल्याएका थिए । बाटोमा मदिरा सेवन गराएर बेहोस अवस्थामा जंगलमा लगेर छाडेको गएरातीबाट होसमा आएको बताएकी छिन् ।
रातभरि वर्षाले रुझेर कमजोर भएको अवस्थामा जंगलबाट घिस्रिएर आफु राजमार्गमा निस्किन सफल भएको बताएकी छिन् । घरमा श्रीमती भएका गुड्डुले गाउँकै ती युवतीलाई भगाएर कोठामा राखेका थिए । लामो समयदेखि यातना दिदै आएको र बच्चा भएपछि मार्ने योजनाले नेपाल ल्याएको उनले बताएकी छिन् ।

शिशु माग्नेका लर्को
बेवारिसे अवस्थामा फेला पारेको शिशुलाई धर्मपुत्रका रुपमा राख्न चाहानेको लर्को लागेको छ । बुधबार विहानसम्म ५० जनाभन्दा बढीको प्रहरीमा फोन आएको छ ।

निशन्तान भएका परिवारबाट प्रहरीलाई बच्चा पाउँन सकिन्छ कि भनेर बारम्बार फोन आईरहेको छ । हुन त सन्तान नहुनेलाई सन्तान सुख र बेवारिसे बच्चालाई नयाँ जीवन पाउने कुरालाई सकारात्मक रुपमै लिनुपर्छ । तर, हामीले उसको अभिभावक भेटियो भनेर कामना गरेनौं बरु त्यो बच्चा कसले पाउँला भन्ने कुरामा बढी चनाखो भयौं ।

अब के गर्छ प्रहरीले ?
बेवारिसे शिशु कसलाई दिने भन्ने विषयमा चर्चा चलिरहेको बेलामा शिशुकै आमा फेला परेपछि अब प्रहरीले के गर्छ त ? जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले महिलाको आफन्त आएपछि शिशु र आमाको सम्बन्ध पुष्टि भएपछि परिवारको जिम्मा लगाईने बताए ।

समाजलाई कति हतारो !
शिशु वेवारिसे अवस्थामा भेटिएपछि नारी अस्मितामाथि नै प्रहार सुरु भयो । समाजले नारीलाई मात्रै यसमा दोषी देख्यो । आमाको नाममा ‘कलङक’ भन्दै अनेक–अनेक टिकाटिप्पणी भए । त्यसलाई केहि महिलाहरुले सामाजिक सञ्जालमै प्रतिकार समेत गरे ।

समाचारका पहिलो हरफ नै निर्दयी आमाबाट सुरु गरिए । एउटा आमालाई जति सन्तानको माया सायदै कसैलाई होला ! तर, यस घटनामा सबैभन्दा पहिलो प्रहार नै आमामाथि नै भयो । कसैलाई कत्तिपनि घटनाका पछाडीको कारण सोच्न र खोज्न समय भएन ।

बुधबार विहान बच्चाको लागि जंगलभित्र तड्पिएर ज्यान बचाउँदै सडक किनारामा फेला परेको आमाको तस्विरले समाजलाई दहे झापड हानेको हुनुपर्छ । हतारमा विचार बनाएर कसैको अस्मितामाथि प्रहार गर्नु जायज हैन रहेछ भन्ने सबक सिकायो होला नि ?

हिजो हतारमा हालिएका ‘पोष्ट’ गलत रहेछ भनेर ‘डिलेट’ गर्ने हिम्मत कतिजनाले गर्नुभयो त !