skip this

यसपाली पनि चुनाव आयो रे गाउँमा !

1.39K shares
oil-nigam-amlekhgunj-adv.jpeg

यता भने मेरो मोबाइल स्क्रिन झण्डा बोकेका लामो लस्कर, मोटरसाइकलको हुइँकाहुइँ, नाराका आवाज र भीडका फोटो–भिडियोले भरिएको छ। गाउँ टाढा छ, तर चुनावको हल्ला यहाँ परदेशसम्म आइपुगेको छ।

हरेक चुनाव जस्तै यसपाली पनि परिवर्तन, नयाँ सोच र नयाँ सपनाका कुरा उठेका रहेछन्। फेसबुक, युट्युब र टिकटक भरि चुनावी प्रचारको भेल देख्दा यस्तो लाग्छ—अब भने देश साँच्चै बदलिनेछ। अब भने सबथोक ठीक हुनेछ ।

तर मनको कुनामा कताकता प्रश्न उब्जिन्छ—यो विश्वास पनि कतिऔँ पटक दोहोरिएको होला?
पटक–पटक चुनाव यस्तै तडक–भडकका साथ आउँछ। म आफैँ पनि कुनै समय चुनावको भीडमा उभिएको थिएँ। देश बनाउने सपनासहित भोट माग्न हिँडेको थिएँ।

तर विडम्बना—देश बनाउने सपना बोकेर हिँडेको म आज छाक टार्न र छानो फेर्नकै लागि परदेशी भूमिमा पसिना बगाइरहेको छु।

गाउँमा मेरी आमा एक्ली छिन्।

गाईलाई घाँस काटेर दिँदा, पानी बोकेर ल्याउँदा, खाना पकाउँदा दिन ढल्किन्छ।
चुनाव आएको छ भन्ने खबर उहाँले पाउनुभयो कि पाउनुभएन—थाहा छैन।

पाए पनि के विश्वास लाग्ला र? कति चुनाव देखिसक्नुभयो उहाँले। कति “नयाँ शक्ति” का नाडी छामिसक्नुभयो।

यसपालीको चुनावले परिवर्तन ल्याउँछ भन्ने भरोसा अझै बाँकी छ कि छैन—म जान्न चाहन्छु।
मलाई मेरी आमालाई सोध्न मन छ—“आमा, यसपाली चुनाव कसरी आयो गाउँमा?”
पोहोर–परारकै जस्तै आयो होला।

हिजो मनोनयन दर्ता भएपछि बाटोमा मान्छे देखिन थाले होलान्।
चोकको चिया पसलमा भिड बढ्न थालेको होला।

नयाँ कोट, नयाँ जुत्ता र नयाँ भाषण बोकेका नेताहरू गाउँ पसिसके होलान्।

जुन बाटोमा बिरामी हुँदा एम्बुलेन्ससम्म गुड्दैन, त्यही बाटोमा करोडौँ मूल्य पर्ने चिल्ला गाडीहरू कुद्न थाले होलान्।

सोच्दा–सोच्दै लाग्छ—गाउँमा त म सानो हुँदा आएको दशैंभन्दा पनि ठूलो रमाइलो सुरु भयो होला।
गाह्रो परे फोन लगाउन मान्छे खोज्दै हिँड्ने मेरी आमाको ढोकामा अहिले दिनदिनै नेता र कार्यकर्ता आउन थाले होलान्।

कसैले त “छोरोलाई भोट हाल्न नेपाल बोलाउनुपर्छ” समेत भने होलान्।

कसैले “एक्ली आमालाई छोडेर कसरी विदेश जान सकेको?” भनेर प्रश्न पनि गरे होलान्।
खैर, जसले जे भने पनि—गाउँका आकाशमा रातो, सेतो, हरियो र निलो झण्डा फहराइरहेका होलान्।

मोटरसाइकलका हर्नले गाउँ फेरि जागेको होला।

गाउँमा जसरी चुनाव आए पनि, म—यो अभागी परदेशी—परिवर्तनका लागि एक मत हाल्न सक्दिनँ।
मेरो मताधिकार प्रयोग गर्न सक्दिनँ।

सोच्दा–सोच्दै मुटु गाँठो परेर आउँछ।

आमा,

यो परिवर्तनको नाममा आएको चुनावबाट नराम्रोले जित्दै नजितोस्,
राम्रोले हार्दै नहारोस् ।

यसपालीको चुनावले उम्मेदवार र पार्टीलाई होइन—देशलाई जिताओस्।

आमा,
मैले नसके पनि,
हजुरले आफ्नो मताधिकारको सही सदुपयोग गर्नुस् है।

nijgadh-supermart-adz1200-630