skip this farak Kura Pravakar

१५ वर्षअघि भएको हत्याका आरोपी गुरुङलाई बहराइनबाट नेपाल ल्याइयो

1.28K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । १५ वर्षअघि कास्कीको पोखरामा भएको एक हत्याकाण्डका आरोपीलाई बहराइनमा पक्राउ गरी नेपाल ल्याइएको छ ।

नेपाल प्रहरीको इन्टरपोल शाखाको पहलमा हत्या आरोपी अशोक गुरुङलाई बहराइनबाट नेपाल ल्याइएको हो ।

१५ वर्षअगाडि सामान्य विवादका क्रममा आफ्नै साथीलाई दाउराको चिर्पटले प्रहार गरी हत्या गरेको आरोप लागेका अशोक गुरुङलाई नेपाल प्रहरीले धेरै मिहेनत गरेर बहराइनबाट नेपाल ल्याउन सफल भएको हो ।

गुरुङलाई गत मंसिर महिनामै बहराइन प्रहरीले पक्राउ गरेको थियो । तर नेपालले अन्य कुनै देशसँग पनि सुपुर्दगी सन्धी नगरेको कारण बहराइनबाट गुरुङलाई नेपाल ल्याउन समस्या परेको थियो ।

तर नेपालको एनसिबी (इन्टरपोल) शाखाले निरन्तर फलोअप गर्दै आवश्यक सबै कागजात पठाएपछि नेपाल सरकारलाई सुपुर्दगी गर्न बहराइन सहमत भएको थियो । त्यसलगत्तै मंगलबार बिहान १० बजे अशोक गुरुङलाई विमानमार्फत् नेपाल ल्याइएको हो ।

बहराइनमा पक्राउ परेका अशोक गुरुङ १५ वर्ष अगाडि पोखरामा भएको एक हत्याकाण्डका अभियुक्त हुन् । उनीविरुद्ध कास्की जिल्ला अदालतमा कर्तव्य ज्यानको मुद्दा चलिरहेको छ ।

गुरुङले आपसी विवादका क्रममा २०६३ साल वैशाख २९ गते आफ्नै साथी रोजन राईमाथि दाउराको चिर्पटले आक्रमण गरेका थिए ।

आक्रमणपछि घाइते भएका राईको उपचारकै क्रममा २०६३ जेठ २ गते मृत्यु भएको थियो । सामान्य विवादका क्रममा गुरुङले पोखराको सातमुहाने भन्ने स्थानमा दाउराको चिर्पटले हिर्काएर राईको हत्या गरेको प्रहरीको आरोप छ ।

nijgadh-supermart-adz1200-630