बारा १ मा एमाले–जसपा गठबन्धनको ‘क्लिन स्वीप’ ! सत्ता गठबन्धनबाट जसपा बाहिरिदा लोसपा शून्य
खानेपानी मन्त्री उमाकान्त चौधरी पराजित

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १३:११

बारा–सत्ता गठबन्धनमा जसपा बाहिरिदा बारा क्षेत्र नं. १ मा पाँच दलिय गठबन्धनमा ठुलो क्षति भएको छ ।
पाँच दलिय गठबन्धन छाडेर जसपाले नेकपा (एमाले) संग चुनावी गठबन्धन गरेको बारा क्षेत्र नं. १ ‘क्लिन स्वीप’ भएको छ ।
पाँच दलिय गठबन्धनमा रहेको लोसपाको अस्तित्व नै नरहने गरि जसपामा विलय भएपछि त्यसको लाभ एमाले–जसपालाई भएको छ ।
लोसपामा रहेका मधेस प्रदेशका सभामुखले कित्ता फेरेपछि यो क्षेत्रमा त्यसको प्रभाव शून्य भएको हो ।
एमाले–जसपाले संघ र प्रदेश दुवै जितेको छ । गठबन्धनको सहमति अनुसार प्रतिनिधि सभा (संघ) र क्षेत्र नं. १ (क) प्रदेश नेकपा (एमाले) को र क्षेत्र नं. १ (ख) प्रदेश जसपाको भागमा परेको थियो ।
एमालले प्रतिनिधि सभातर्फ अच्युत मैनाली र प्रदेशतर्फ त्रिलोकी चौधरीलाई उम्मेदवार बनायो भने जसपाले सरोज यादबलाई उम्मेदवार बनायो ।
पाँच दलिय गठबन्धनबाट प्रतिनिधि सभामा खानेपानी मन्त्री समेत रहेका कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरी र प्रदेश (क) मा कांग्रेसका रमेशप्रसाद दंगाल र प्रदेश (ख) मा कांग्रेसका नागेन्द्रप्रसाद साह कलवार र नेकपा (एकिकृत समाजवादी) का बतहु यादब उम्मेदवार थिए । माओवादीले कांग्रेसका कलवारलाई समर्थन दिएको थियो ।
‘क्लिन स्वीप’
शुक्रबार सार्वजनिक मतपरिणाम अनुसार एमाले–जसपा गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् । प्रतिनिधि सभातर्फ अच्युत मैनाली र प्रदेशतर्फ त्रिलोकी चौधरी र सरोज यादब फराकिलो मतान्तरले विजयी भएका छन् ।
मन्त्री चौधरी पराजित
सत्ता गठबन्धनका उम्मेदवार खानेपानी मन्त्री उमाकान्त चौधरी पराजित भएका छन् । उनलाई एमाले–जसपा गठबन्धनका उम्मेदवार एमाले पोलिटब्यूरो सदस्य अच्युत मैनालीले पराजित गरेका हुन् ।
एमालेका अच्युत प्रसाद मैनालीले २९ हजार १ सय २५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उमाकान्त चौधरीले ३० हजार ५६ मत प्राप्त गरेका छन् । मैनालीले ९ हजार ६९ मतान्तरले विजयी भएको बारा क्षेत्र नं. १ का निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिए ।
२०७४ मा बामगठबन्धनका उम्मेदवार रहेका मैनालीलाई नेपाली कांग्रेसका उमाकान्त चौधरीले पराजित गरेका थिए । पाँच वर्षपछि मैनालीले उनै चौधरी विरुद्ध जीत निकालेका छन् ।
यादब र चौधरी पुनः विजयी
प्रदेशसभातर्फका जीत दोहो¥याउँदै त्रिलोकी चौधरी र सरोज यादब विजयी भएका छन् । २०७४ मा विजयी भएका दुवै जनाले पुनः मधेस प्रदेश सभामा छिर्ने अवसर पाएका हुन् ।
उनी २ हजार ५ सय २८ मतान्तरसहित विजयी भएका हुन् । उनले १६ हजार ७ सय ९८ मत प्राप्त गरेका छन् । कांग्रेसका रमेश दंगालले १४ हजार २ सय ७० मत प्राप्त गरे ।
त्यसैगरि जसपाका उम्मेदवार यादब ४ हजार ८ सय ८७ मतान्तरले पुनः विजयी भएका हुन् । उनले १५ हजार ९ सय २७ मत प्राप्त गरेका छन् ।
कांग्रेसका उम्मेदवार नागेन्द्र प्रसाद साहले ११ हजार ४० मत प्राप्त गरेका छन् ।

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १३:११