ललितपुरमा कांग्रेसबाट धोका भएको माओवादी केन्द्रको निष्कर्ष
वि.सं.२०७९ जेठ १० मंगलवार १३:०१

काठमाडौं । ललितपुरका स्थानीय नेताहरू कांग्रेस–माओवादी गठबन्धन माओवादीलाई धोका भएको निष्कर्षमा पुगेका छन् ।ललितपुरको महानगर, महालक्ष्मी नगरपालिका, कोञ्ज्योसोम, बागमती र महांकाल गाउँपालिकामा गठबन्धन गरेर निर्वाचनमा होमिएको नेकपा माओवादी कोञ्ज्योसोम, महालक्ष्मीमा पराजय भएको छ भने ललितपुर महानगरमा पनि उही स्थिति छ । बागमती र महांकालमा भने माओवादीले उपाध्यक्षमा विजय प्राप्त गरेको छ ।
महालक्ष्मी नगरको मेयर पदमा उम्मेदवारी दिएका माओवादी केन्द्रका शिव कट्टेल कांग्रेसका नेताहरूले आन्तरिक द्वन्द्वको रिस गठबन्धनमा ल्याएर पोखेको आरोप लगाउँछन् । उनी भन्छन्, ‘हामीलाई सबैभन्दा ठूलो घात गरे । गठबन्धन गरेको भन्ने, तर एमालेसँग साँठगाँठ गरेर जिताए । यो राम्रो भएन ।’
कांग्रेस नेताहरूले मिलेको र सालिन देखाएको तर भोट भने नहालेको उनको बुझाइ छ । ‘असन्तुष्टि भए बाहिरै देखाएको भए हुन्थ्यो,’ कट्टेल भन्छन् ।शतप्रतिश्त गठबन्धन लागू हुनुपथ्र्यो भन्ने आफूले नसोचे पनि ५० प्रतिशत कांग्रेसको भोट आउने आफूले अपेक्षा गरेको उनको भनाइ छ । ‘तर ३० प्रतिशत पनि भोट आएन,’ उनी भन्छन् ।
माओवादी केन्द्रका जिल्ला संयोजक हरि दाहालले कोञ्ज्योसोम, महालक्ष्मी र ललितपुर महानगरमा गठबन्धन लागू नभएको निष्कर्षमा पुगेको बताए ।केही दिनपछि पार्टीको बैठक बसेर गठबन्धनमा भएको धोकाको विषयमा गम्भीर समीक्षा गरिने उनले बताए ।तर, माओवादी केन्द्रको आरोपबारे कांग्रेस नेताहरूले हालसम्म कुनै प्रतिक्रिया सार्वजनिक गरेका छैनन् ।
वि.सं.२०७९ जेठ १० मंगलवार १३:०१

















