देशमा पूर्वाधारको गतिलाई तीव्र बनाउनका लागि कांग्रेसको जित्न आवश्यक छ –प्रकाशमान सिंह
वि.सं.२०७९ कात्तिक १३ आइतवार १०:४९

काठमाडौं । कांग्रेसको ध्यान कानुन निर्माणमा मात्र नभइ पूर्वाधार विकासमा पनि भएको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन् । चुनाव प्रचार अभियानका क्रममा आइतबार बिहान मतदातासँग भेट गर्दै नेता सिंहले देशमा पूर्वाधारको गतिलाई तीव्र बनाउनका लागि कांग्रेसले जित्न आवश्यक भएको जिकिर गरेका छन् । उनले जनतालाई समस्या परेका बेला आफूले सकेको सहयोग गरेको भन्दै उनले यसपटक पनि जनताले आफूलाई जिताएर पठाउनेमा आशावादी रहेको बताएका छन्। चुनावका बेला सबै दल जनताको दैलोमा आउने भए पनि सही पात्र छानेर मतदान गर्न आग्रह गरेका छन् ।
उनले आफूभन्दा अघिका जनप्रतिनिधिको तुलनामा भौतिक पूर्वाधार विकासको क्षेत्रमा आफूले धेरै काम गरेको दाबी गरेका छन् । काठमाडौं–१० बाट प्रतिनिधि सभाका उम्मेदवार रहेका सिंहले उक्त क्षेत्रबाट जितेर गएका जनप्रतिनिधि प्रधानमन्त्रीसमेत भइसकेपछि आफू बराबर कसैले विकास गर्न नसकेको बताएका छन् । २०६४ यस क्षेत्रबाट जनताले आफूलाई जिताएर पठाएपछि मात्र विकासको ढोका खुलेको उनको भनाइ छ। विकास निर्माणका कामलाई प्रभावकारी रुपमा अघि बढाउन कानुनहरु निर्माण भइरहेको बताउँदै उनले काठमाडौं–१० को पूर्वाधार विकासका लागि कांग्रेसलाई जिताएर पठाउन अनुरोध गरे।
वि.सं.२०७९ कात्तिक १३ आइतवार १०:४९

















