सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य छ –प्रधानमन्त्री दाहाल
वि.सं.२०७९ माघ २८ शनिवार ११:४६

काठमाडौं । भ्रष्टाचारका विरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुने प्रधानमान्त्री पुष्पकमल दाहालले बताएका छन् । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको बताएका छन् ।
प्रधानमन्त्री दाहालले विकास र सुशासन एक अर्काका परिपूरक भएको बताएका छन् । उनले नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको जिकिर गरेका छन् । प्रधानमन्त्री दाहालले भ्रष्टाचार र भ्रष्टाचारीमाथि कानुनी कारबाही अघि बढाउने प्रतिवद्धता वर्तमान सरकारले प्राथमिकता राखेको जनाएका छन् । भ्रष्टाचारमुक्त र सदाचारयुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ नेपालको संविधानले आयोगलाई प्रदान गरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने सवालमा आयोगलाई सरकारको तर्फबाट हर प्रकारको सहयोग र समर्थन रहने उनको भनाई छ ।
प्रधानमन्त्री दाहालले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँदै सुशासन कायम गर्न आग्रह गरेका छन् । वर्तमान सरकारले लिएका लक्ष्यहरू आर्थिक समृद्धि र सुशासन प्रवर्द्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता संवैधानिक आयोगहरूको भूमिका महत्त्वपूर्ण हुने प्रधानमन्त्री दाहालले बताएका छन् ।
वि.सं.२०७९ माघ २८ शनिवार ११:४६
















