अदालतले दोषी ठहर गरी सजाय भोगिरहेकालाई राजनीतिक आवरण दिइ उन्मुक्ति दिनु हुँदैन –मानवअधिकार आयोग
वि.सं.२०७९ मंसिर २८ बुधवार १६:५२

काठमाडौं । अदालतले दोषी ठहर गरी सजाय भोगिरहेका एवं मानव अधिकार उल्लंघनका घटनामा संलग्न भएका दोषीहरुलाई राजनीतिक आवरण दिइ उन्मुक्ति नदिन, त्यसप्रकारको कानुन समेत नबाउन राष्ट्रिय मानवअधिकार आयोगले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।सरकारले टीकापुर घटनामा संलग्नताको आरोपसहित जेल सजाय भोगिरहेका रेशम चौधरी लगायतका नेताहरुलाई रिहाइ गर्ने उद्देश्य राखेर राष्ट्रपतिसमक्ष अध्यादेश सिफारिस गरेको छ। आयोगले सोही अध्यादेशतर्फ लक्षित गर्दै आपराधिक घटनाका दोषीलाई उम्मुक्ति दिइ दण्डहीनतालाई प्रश्रय नदिन भनेको हो।
‘उक्त अध्यादेशको प्रावधानले कानुनी कारबाहीको क्रममा रहेका, अदालतको निर्णयरफैसलाबाट दोषी किटान भएका र गम्भीर मानव अधिकार उल्लंघन र फौजदारी कसुरका मुद्दाहरु समेत फिर्ता लिने वा आममाफी दिने सम्भावना रहन्छ। उक्त कार्यले विधिको शासन, लोकतन्त्र र पीडितको स्वच्छ न्यायमा असर पर्नुका साथै दण्डहीनतालाई समेत प्रश्रय पुग्ने देखिन्छ। यसबाट मानव अधिकार संस्कृतिको निर्माणमा गम्भीर चुनौती सिर्जना भएको छ,’ आयोगद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ।
वि.सं.२०७९ मंसिर २८ बुधवार १६:५२

















