प्रचण्ड रिसाएपछि गठबधनलाई अनावश्यक रुपमा नचिढ्याउन कार्यकर्तालाई देउवाको निर्देशन
तीनै तहमा गठबन्धन गर्नुपर्छ
वि.सं.२०७८ फागुन २६ बिहीवार २०:३१

वीरगञ्ज । नेपाली कांग्रेस सभापति समेत रहेका प्राधनमन्त्री देउवाले आफ्ना कार्यकर्तालाई गठबन्धनका पार्टीलाई अनावश्यक रुपमा नचिढ्याउ निर्देशन दिएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेस नेताहरुबाट गठबन्धनको पार्टीलाई अपमानजनक अभिव्यक्ति दिएको भन्दै आपत्ती जनाएका थिए । उनले माओवादीको सहयोगले सरकार पुगेर त्यसविरुद्ध नै अभिव्यक्ति दिएको भन्दै आक्रोश पोखेका थिए ।
बिहीबार कांग्रेसको पर्सा जिल्ला समितिका नवनिर्वाचित कार्यसमिति सदस्यलाई प्रमाणपत्र वितरण कार्यक्रममा कांग्रेस सभापतिसमेत रहेका देउवाले प्रजातन्त्र र कांग्रेसका लागि पनि अहिलेको गठबधन जोगाउनुपर्ने भन्दै देउवाले साझेदार दलहरुको आलोचना नगर्न आग्रह गरे । उनले भने, ‘त्यसकारण हाम्रो बोली भाषाले गठनबन्धनका भाषाले अन–नेसेसरीली चिढ्याउने काम गर्नु हुँदैन ।’
गठबन्धनलाई निरन्तरता
प्रधानमन्त्री देउवाले स्थानीय निर्वाचनमा गठबन्धनलाई बेवास्ता गर्न नमिल्ने बताएका छन् । उनले केन्द्रदेखि स्थानीय तहसम्म मिलेर जानुपर्ने बताएका हुन् । भने, ‘गठबन्धनका साथीहरुको सहयोगले म प्रधानमन्त्री भएको हुँ । गठबन्धनका साथीहरुलाई बेवास्ता गर्न मिल्दैन ।’
गठबन्धनमा आवद्ध दलहरुबीच स्थानीयदेखि माथिल्लो चुनावमा तालमेल गर्न छलफल हुने उनले बताए । अहिलेको निर्वाचन प्रणालीमा कुनै पार्टीले एक्लै बहुमत ल्याउन नसक्ने भन्दै देउवाले गठबन्धन गर्नैपर्ने बाध्यता रहेको जिकिर गरे । ‘संविधान अनुसार कुनै पनि पार्टीले एक्लै बहुमत ल्याउन सक्दैन, कसै न कसैसँग मिल्नुपर्ने आवश्यकता छ,’ उनले भने, केही ठाउँमा समस्या होला, तर कुराकानी गरेर मिल्नुपर्छ ।’
देउवाले अघि भने, ‘एक्लै लड्दा धेरै ठाउँमा हारेका थियौं । गठबन्धन गरेर स्थानीय तहदेखि प्रदेश र केन्द्रमा पनि भोलि सरकार बनाउने हिसाबले अघि बढ्न सक्छौं ।’
वि.सं.२०७८ फागुन २६ बिहीवार २०:३१

















