बार एसोसिएसनका पदाधिकारी र प्रधानमन्त्री दाहालबीच छलफल
वि.सं.२०७९ चैत ३० बिहीवार १०:३७

काठमाडौं। नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेटेर सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न दबाब दिएका हुन् ।
नेपाल बार एशोसिएसनले बुधबार पत्रकार सम्मेलन गर्दै ७ देखि १० दिनभित्र प्रधानन्यायाधीश नियुक्त नभए आन्दोलन गर्ने घोषणा गरेको थियो ।छलफलमा बारका पदाधिकारीहरूले १४ महिनादेखि सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश कायम रहेकाले तत्काल संवैधानिक परिषदको बैठक राखी प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानमन्त्रीलाई भेटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री संवैधानिक परिषदको अध्यक्षसमेत भएकाले तत्काल प्रधानन्यायाधीश नियुक्तिको पहल लिन ध्यानाकर्षण गराएको जानकारी दिएका छन् । प्रधानमन्त्री प्रचण्डले प्रधानन्यायाधीश नियुक्तिका लागि आफूले पहल गरिरहेको र चाँडै ठोस निस्कर्षमा पुग्ने बताएको पनि घिमिरेले बताउका छन् ।
वि.सं.२०७९ चैत ३० बिहीवार १०:३७

















