दुधौरा खोल किनारको बस्तीमाथि ३० वर्षपछि वन कार्यालयको आँखा पुग्यो ! १५ दिनभित्र घर छाप्रो टहरा हटाउन उर्दी

सूचना टाँसपछि खैलाबैला

2.34K shares

बारा–३० वर्षदेखि दुधौरा खोल किनारको रहेको बस्तीमा ३० वर्षपछि वन कार्यालयको आँखा पुगेको छ । १५ दिनभित्र बस्ती खाली गर्न भन्दै वन कार्यालयले सूचना जारी गरेको छ ।

पथलैया सव डिभिजन वन कार्यालयले ३१ साउनमा सूचना जारी गरेर आफ्नो क्षेत्र अन्तर्गत पर्ने पथलैया समुदायिक वन क्षेत्रमा पूर्व दधौरा खोला, पश्चिम पथलैया सामुदायिक वन, उत्तर पुर्व पश्चिम राजमार्ग र दक्षिण पथलैया सामुदायिक वन खयरघारी चारकिल्ला भित्रको वन क्षेत्रमा रहेको बस्ती खाली गर्न भनिएको छ ।

‘केही व्यक्तिहरुले वन ऐन नियम विपरित अनियमित रुपमा वन अतिक्रमण गरी घर छाप्रो टहरा बनाई वसेको, पसल संचालन गरेको देखिन आएको छ,’ सूचनामा भनिएको छ–यो सुचना टाँस भएको मितिले १५ दिन भित्र घर छाप्रो टहरा हटाई लैजानु ।

१५ दिनभित्र नहटाई अटेर गरेमा घर छाप्रो टहरामा प्रयोग भएका काठ लगायतका मालवस्तु जफत गरी सो कार्यमा संलग्न व्यक्तिहरुलाई वन ऐन नियम बमोजिम कारवाही गर्ने वन कार्यालयका प्रमुख ललन राउत कुर्मीद्धारा जारी सूचनामा चेतावनी दिईएको छ ।

सूचना टाँसपछि खैलाबैला

वन कार्यालयले सूचना टाँस गरेपछि बस्तीमा खैलाबैला मच्चिएको छ । सुकुम्बासी र अव्यस्थित बसोबासीको व्यवस्थापनका लागि सरकारले काम गरेपछि दिगो व्यवस्थापनका आशामा रहेका दुधौराका स्थानीय वन कार्यालयको पत्रपछि आक्रोशित भएका छन् ।

वि.स. २०५० सालदेखि बस्दै आएको बस्तीलाई अचानक खाली गर्ने वन कार्यालयले पत्र टाँस गरेपछि स्थानीयले विभिन्न सरकारतिरै विभिन्न प्रश्न तेर्साएका छन् । बस्ती उठाएपछि स्थानीयको कहा“ व्यवस्थापन हुने ? बस्ती वन क्षेत्रमा भएको भए किन सरकारी निकायबाटै लगानी गरेर विकासको पुर्वाधार मध्य पर्ने शिक्षा, विद्युत, खानेपानी कसरी पुग्यो ? भनेर प्रश्न उठाएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयले बस्ती छेउमा फाहोरको डम्पिङ गर्दै आएको छ । फोहोरका कारण स्थानीयलाई विभिन्न स्वास्थ्य समस्या भईरहेको दुधौराकी सम्झाना लामा बताउँछिन् । फाहोरको डम्पिङको विरोध गरेका कारण बस्ती खाली गर्ने षड्यन्त्र रचेको हुन सक्ने उनको आशंका छ ।