संघीयताले नेपालको संस्कृतिको प्रतिनिधित्व गर्नुपर्ने शिक्षा मन्त्री पौडेलको भनाई
वि.सं.२०७९ मंसिर २८ बुधवार १३:५५

काठमाडौं। संघीयताले नेपालको संस्कृतिको प्रतिनिधित्व गर्नुपर्ने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बताएका छन् । आज आदिवासी जनजाति आयोगले ललितपुरमा आयोजना गरेको आदिवासी जनजाति ज्ञान सम्मेलनमा बोल्दै मन्त्री पौडेलले नेपाली प्रकृतिको विशेषता, भुगोल र नेपालको संस्कृतिको प्रतिनिधित्व हुने संघीयता आफूहरुले खोजेको उल्लेख गरेका छन् ।
मन्त्री पौडेलले देशलाई संघीय संरचनामा लाने बेलामा आफूहरूले समुदायको पहिचान झल्किने गरी नाम राखेर जान खोजेको भएपनि त्यस्तो गर्न नसकिएको बताएका छन् । उनले समुदायको आधारमा नाम राख्दा जात विशेषको हुन खोजेको प्रचार भएपनि सो आधारमा नामाकरण गर्न नसकिएको स्पष्ट पारेका छन् । मन्त्री पौडेलले समुदायको आधारमा संघीय संरचनाको नामाकरण गर्दा राम्रो हुने जिकिर गरेका छन् ।उनले राज्यका सबै निकायहरूमा समावेशी, समानुपातिक पहुँच र प्रतिनिधित्व सुनिश्चित हुनु नै संघीयताको खास अर्थ भएको उल्लेख गरेका छन् ।
वि.सं.२०७९ मंसिर २८ बुधवार १३:५५

















