उपसचिव ज्ञवालीको सेटिङमा २६ करोडको सामान खरिद गर्दै निर्वाचन आयोग
वि.सं.२०७८ फागुन २५ बुधवार १५:१५

काठमाडौं । निर्वाचन आयोगले आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रयोग हुने आवश्यक सामग्री खरिदको टेण्डरमा चलखेल भएको छ ।
स्थानीय तहको निर्वाचनका लागि आवश्यक सामग्री खरिदको बोलपत्रमा २०७८ फागुन १३ सम्म दर्ता हुन आएका बोलपत्रमध्ये आयोगका प्रशासन शाखा प्रमुख कमल ज्ञवालीको सेटिङ भएका कम्पनीहरुले मात्र पाएको गुनासो छ ।
फागुन १३ मा दर्ता बोलपत्र दर्ता भएपछि उपसचिव ज्ञवालीले मूल्यांकनका क्रममा आफूसँग सेटिङ भएका कम्पनीहरुलाई मात्र निर्वाचन सामग्री आपूर्तिको ठेक्का दिएको आरोप छ ।
ईबिड भने पनि बोलपत्र दर्ता भइसकेपछि उपसचिव ज्ञवालीले कम्पनीहरुसँग मोलमोलाई गरी मूल्यांकनका क्रममा तिनलाई पास गराई आपूर्तिको ठेक्का दिएको सूचना प्रकाशित गराएका छन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेशप्रसाद थपलियाका विश्वासप्राप्त उपसचिव ज्ञवालीले १२ करोड ७८ लाख रुपैयाँको पोलिङ बुथ एण्ड प्राईभेसी स्क्रीन छेकाबाराको ठेक्का ग्याबिअन्ट इन्भ्यारोमेन्ट सोलुसन प्रालि खिचापोखरीलाई दिएका छन् ।
३ करोड ५१ लाख ६७ हजार ८ सय ६० रुपैयाँको रबर म्याटको ठेक्का प्रवेश ट्रेडर्स नयाँबजारलाई दिएका छन् ।
३ करोड २५ लाख ४४ हजार रुपैयाँको सेफ्टी सेल(जिप टाई) आपूर्ति गर्नका लागि हिमालयन ट्रेडिङ बिजनेस कन्सर्न÷एस गार्मेन्टस् प्रालि त्रिपुरेश्वरलाई दिइएको छ ।
१ करोड ९२ लाख ४३ हजार ९ सय रुपैयाँ बराबरको स्ट्याम्प प्याड्स, स्ट्याम्पस इन्क, पर्मानेन्ट मार्कर एण्ड मार्कर पेनको आपूर्ति गर्ने ठेक्का एसपी इन्टरप्राइजेज बबरमहललाई दिइएको छ । १ करोड ७० लाख ४० हजार ४ सय बराबरको स्केल्स, ग्लुस्टीक, पन्चिङ एण्ड सोसरको आपूर्तिको जिम्मा एएस इन्टरप्राइजेज बबरमहलले पाएको छ ।
१ करोड ८८ लाख ३ हजार २ सयको कोरा क्लोथ एण्ड कोरा ब्याग आपूर्ति गर्नका लागि भ्याली भ्यू ट्रेडलिंक जनरल सप्लायर्स बबरमहलले नै पाएको छ ।
रबर एण्ड ब्रसको आपूर्तिको ठेक्का रौता डल्फिन जेभी शंखमूललाई दिएका छन् । ९९ लाख ८९ हजार २ सय रुपैयाँ बराबरको हो ।
५३ लाख १४ हजार ८ सय ४२ रुपैयाको सेलिङ वाक्स(लाहा) र जेल पेनको आपूर्ति गर्नका लागि ए रोल प्रालि बालुवाटारलाई दिइएको छ ।
४० लाख ८५ हजार ५ सय बराबरको प्लाष्टिक ब्याग एण्ड स्याक(बोरा) को आपूर्तिको जिम्मा प्रेरणा ट्रेड कन्सर्न नागार्जुन, काठमाडौंले पाएको छ । १९ लाख ९ हजार ७ सय रुपैयाँमा स्टयाप्लर मेसिन र स्ट्याप्लर पिनको ठेक्का ट्रेड एण्ड सप्लायर्स तीनकुने काठमाडौंलाई दिइएको छ ।
प्रमुख आयुक्तकै योजनामा सेटिङ गर्न ज्ञवाली आयोगमा
निर्वाचन आयोगका प्रमुख आय्ुक्त दिनेशप्रसाद थपलियाले निर्वाचन सामग्री खरिदमा सेटिङ गर्नकै लागि ज्ञवालीलाई आयोगमा लगेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक अधिकारीले बताए ।
प्रमुख आयुक्त थपलियाका विश्वासपात्र हुन् ज्ञवाली । थपलिया संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव हुँदा ज्ञवालीलाई मध्यपुर ठिमीदेखि सूर्यबिनायक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा निजामती सेवा ऐन नियम बिपरीत बर्षौबर्ष राखेका थिए । मध्यपुर ठिमीका मेयर मदनसुन्दर श्रेष्ठलाई तथानाम गलाी गर्ने, उनका बिरुद्ध वडाध्यक्ष र सदस्यहरुलाई भड्काउने र आफूले मनपरी लाभ लिने गरेको आरोप उनीमाथि लागेको थियो ।
ज्ञवालीले मध्यपुर ठिमी नगरपालिकामा चरम अनियमितता गरेको बिषयमा मेयर श्रेष्ठले प्रश्न उठाएपछि उल्टै वडाध्यक्षहरुलाई उक्साएर आक्रमण गर्न लगाएका थिए । तत्कालीन सचिव दिनेश थपलियाले मध्यपुरमा मनपरी गर्ने तिनै ज्ञवालीलाई पुरस्कृत गरी सूर्यबिनायक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पठाए । उनले सूर्यविनायकमा तीन बर्षभन्दा बढी कार्यरत रहँदा मेयर बासुदेव थापासँग मिलेर अनियमितता गरेको बिषय सार्वजनिक भएको थियो ।
नेपाली कांग्रेस निकट भए पनि महेश बस्नेतले पनि ज्ञवालीलाई सूर्यविनायक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत टिकाउन मद्दत गरेका थिए । सधैं आकर्षक नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भएका ज्ञवालीलाई थपलियाले सेटिङकै लागि आयोग लगेका थिए । आयोगमा लगी निर्वाचनको सबै खरिद हेर्ने प्रशासनको प्रमुख बनाइएको समाचार नेपाल फेसले प्रकाशित गरेकाे छ ।
प्रमुख आयु्क्त थपलियाका सबैथोक गर्ने र सरकारी स्वामित्वको बिराटनगर जुट मिलको गैरकानुनी सेयर खरिद गराउने बिचौलिया वसन्त वनसँग मिलेर कमल ज्ञवालीले निर्वाचन आयोगको करिब २६ करोडको यो ठेक्कामा सेटिङ भएका कम्पनीलाई ठेक्का दिएको आयोगकै स्रोत बताउँछ ।
वि.सं.२०७८ फागुन २५ बुधवार १५:१५

















