skip this farak Kura Pravakar

चौथो ल्होछार कप खुला नकआउट फुटबल प्रतियोगिता शुरु, रतनपुर युनाइटेडको विजयी सुरुवात

1.25K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढमा बुधबारदेखि शुरु भएको चौथो ल्होछार कप खुला नकआउट फुटबल प्रतियोगितामा रतनपुर युनाइटेड क्लबले विजयी शुरुवात गरेको छ ।

बुद्धचोक मिनी स्टेडियममा भएको उद्घाटन खेलमा रतनपुर युनाइटेडले पर्सागढी युवा स्पोर्टसलाई २–० ले हराउँदै विजयी शुरुवात गरेको हो । रतनपुरको जितमा दुवै गोल आनन्द गुरोले गरे । टोलीको जितमा नायक बनेका रतनपुरका आनन्द गुरो म्यान अफ दि म्याच समेत चुनिए ।

साथै यो जितसँगै रतनपुर युनाइटेड क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत माघ ८ गते बिहीबारको खेल हरिपुर युनाइटेड क्लब, हरिपुर–२, सर्लाही र हेटौडा फुटबल एकेडेमी, मकवानपुरबीच हुने आयोजकले जानकारी दियो ।

योङ स्टार युनाइटेड क्लब, निजगढ–१० लाल, बाराको आयोजनामा शुरु भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,१०,०१० रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०५,००५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने यही माघ १७ गतेका दिन हुनेछ ।

यसअघि प्रतियोगिताको मधेस खेलकुद परिषदका सदस्य सचिव शिवजी प्रसाद कानूले उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहमा सदस्यसचिव कानू, निजगढ नगरपालिकाकी उपमेयर सोमाया थिङ्ग, जिल्ला खेलकुद विकास समिति बाराका अध्यक्ष दिलबहादुर लामा, नेपाल तामाङ्ग घेदुङ्ग संघ बाराका अध्यक्ष सुर्य घलान, तामाङ्ग मुक्ति मोर्चाका मधेस अध्यक्ष बेनीबहादुर मोक्तान लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

क्लबका अध्यक्ष आशिक लामाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत क्लबका संस्थापक अध्यक्ष सिदार्थ लोप्चन र सञ्चालन वडा सदस्य कुमार मोक्तानले गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका बारा क्षेत्र नं. १ का उम्मेदवारी शम्भुबहादुर बुढाथोकी, नेकपाका उम्मेदवार सन्तोष दंगाल, कांग्रेस नगर सभापति नवराज तिमिल्सना, कार्यपालिका सदस्य मनमाया मगर, सर्मिला विक, फुलमाया लोप्चन, वडा सदस्य मेघराज लामा लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै महिला नेतृ सिता सुवेदी, भावना आर्चाय, दिपीका साह, रुपा घलान लगायतको उपस्थिति रहेको थियो ।

nijgadh-supermart-adz1200-630