skip this farak Kura Pravakar

बारा–४ बाट टिकट पाएपछि कांग्रेसका उम्मेदवार गुप्ताले भने–यो उम्मेदवारी त्याग, संघर्ष र विश्वासको सम्मान हो

1.03K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–आउँदो प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसबाट बारा क्षेत्र नं। ४ का उम्मेदवार श्यामबाबु गुप्ताले पार्टीबाट टिकट पाएपछि आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यो उम्मेदवारी व्यक्तिगत सफलता मात्र नभई लोकतन्त्र, समावेशिता र जनताको पक्षमा गरिएको निरन्तर संघर्षको मान्यता भएको बताएका छन् ।

गुप्ताले लेखेका छन्, “म आज चुनावी मैदानमा उभिँदा यो केवल उम्मेदवारी होइन, वर्षौँदेखिको त्याग, संघर्ष र विश्वासको सम्मान हो ।” नेपाली कांग्रेसले दिएको टिकटलाई उनले लोकतान्त्रिक मूल्य, संविधानको रक्षा र सामाजिक न्यायका लागि लडिएको यात्राको स्वीकारोक्ति भएको उल्लेख गरेका छन् ।

उनका अनुसार राजनीति पद प्राप्तिको साधन होइन, जनताप्रतिको जिम्मेवारी हो । सजिलो समयमा मात्र होइन, कठिन घडीमा पनि पार्टी र सिद्धान्तका पक्षमा उभिएको आफ्नो इतिहास मतदातालाई थाहा भएको उनले दाबी गरेका छन् । “आज त्यो इतिहासले मलाई जनताकै बीचमा उभ्याएको छ,” उनले भनेका छन् ।

मतदातालाई सम्बोधन गर्दै गुप्ताले एक मत केवल कुनै व्यक्तिको लागि नभई लोकतन्त्रको रक्षा, संविधानको मजबुती, सामाजिक न्याय र उज्यालो भविष्यका लागि हुने उल्लेख गरेका छन् । डर, निराशा र भ्रमभन्दा माथि उठेर आशा, साहस र सचेत सहभागिताको समय आएको उनको भनाइ छ ।

उनले चुनावलाई प्रतिस्पर्धा मात्र नभई जनताको चेतनाको उत्सवको रूपमा व्याख्या गर्दै मौन समर्थन होइन, सक्रिय सहभागितामा बदल्न आग्रह गरेका छन् । घर–घरमा संवाद गर्न, सत्य बोल्न र सही पक्ष रोज्न उनले मतदातासँग अपिल गरेका छन् ।

“नेपाली कांग्रेस सधैं परिवर्तनको पक्षमा उभिएको पार्टी हो, र म त्यही परिवर्तनको प्रतिबद्ध प्रतिनिधि हुँ,” गुप्ताले भनेका छन्। अन्त्यमा उनले मतदाताको विश्वासलाई आफ्नो शक्ति र मतलाई भविष्यको आधार बताउँदै ‘जय लोकतन्त्र, जय नेपाली कांग्रेस, जय नेपाल’ का नारा दिएका छन्।

 

(समाचार कमेन्टमा)

nijgadh-supermart-adz1200-630