जगदम्बा जीतपुरसिमरा गोल्डकप : चितवनलाई पन्छाउदै बाग्मती क्वार्टरफाइनलमा
वि.सं.२०७८ चैत १२ शनिवार ०७:३२

बारा : बिएफसी चितवनलाई पन्छाउदै बाग्मती युवा क्लब सर्लाही जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।
सिमरा रंगशालामा शुक्रवार भएको खेलमा चितवनलाई २-१ पराजित गर्दै बाग्मती अन्तिम आठमा प्रवेश गरेको छ । चितवनविरुद्ध रोमाञ्चक जित हात पार्ने क्रममा बाग्मतीका दिनेश चाम्लिङ्ग राई र प्रदीप लम्सालले गोल गरे । बाग्मतीका लागि रोशन क्षेत्रीले गोल गरेका थिए ।
प्रतिस्पर्धात्मक भिडन्तमा खेलको १५औं मिनेटमा चितवनले खेलमा अग्रता लिएको थियो । रोशन क्षेत्रीले वन भर्सेस वनको अवस्थामा गोल गरे । क्षेत्रीको प्रहारलाई बाग्मतीका गोलरक्षक प्रिसोले नियन्त्रणमा लिन सकेनन् ।
चितवनले लिएको अग्रता बराबरीमा ल्याउने क्रममा बाग्मतीका दिनेश चाम्लि» राईले खेलको २३औं मिनेटमा गोल फर्काए । डिबक्स भित्रबाट दिनेशले गरेको प्रहार चितवनका गोलरक्षक मनोज गुरुङ्गले ठम्याउन सकेनन् । उनको उत्कृष्ट गोलले खेलमा पुनरागमन गरेको बाग्मतीले पहिलो हाफमा चितवनलाई नियन्त्रणमा लिन सफल भयो ।
चितवनविरुद्ध पहिलो हाफमा तालमेल बनाएको बाग्मतीले विपक्षी टोलीको केही प्रयासलाई असफल तुल्याएको थियो । दोस्रो हाफमा चितवन केही लयमा देखियो । केही राम्रा अवसर बनाएपनि फिनिसिङ्गमा चुकेको चितवनले बाग्मतीलाई दवावमा राख्यो ।
खेलको ६५औ मिनेटमा चितवनका जोहनले गोल गर्ने सुनौलो अवसर गुमाए । उनको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । दोस्रो हाफमा तालमेलको अभाव देखिएको बाग्मतीले अन्तिम समयमा भने उत्कृष्ट खेल पस्कियो । चितवनलाई स्तब्ध पार्ने क्रममा बाग्मतीले खेलको ८१ औं मिनेटमा बिजयी गोल गरेको थियो । बाग्मतीका प्रदीप लम्सालले डिबक्स बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।
अन्तिम समयमा अग्रता लिएपछि उत्साहित बाग्मतीले चितवनलाई पूर्ण दवावमा राख्दै नतिजा आफ्नो पक्षमा पारेको थियो । प्रतिस्पर्धात्मक खेलमा बाग्मतीविरुद्ध पराजय भएको चितवन भने प्रतियोगिताबाट बाहिरियो । खेलको म्यान अफ दि म्याच बाग्मतीका दिनेश चाम्लिङ्ग राई घोषित भए । उनले नगद पाँच हजार हात पारे ।
प्रतियोगिता अन्तर्गत शनिवार न्युरोड टिम (एनआरटी) र विजय युथ क्लब बीच खेल हुनेछ । नव जनजागृति युवा क्लबको आयोजनामा जारी प्रतियोगिता चैत्र १९ गतेसम्म संचालन हुनेछ ।
प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख प्राप्त गर्नेछ ।
यो पनि..
जगदम्बा जीतपुरसिमरा गोल्डकप सुरु, सुदूरपश्चिमको विजयी सुरुवात
प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडीले मोटरसाईकल वा स्कुटर प्राप्त गर्नेछन् भने प्रतियोगिता अवधीभरी उत्कृष्ट प्रदर्शन गर्ने विधागत पुरस्कारतर्फ गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता, प्रशिक्षकले जनही २० हजार नगदले पुरस्कृत गरिनेछ । प्रतियोगिताको उदयीमान स्थानिय खेलाडीलाई १५ हजार नगदले पुरस्कृत गरिने आयोजक क्लबले जनाएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा र जगदम्बा स्टील्स्को मुख्य प्रायोजनमा प्रतियोगिता आयोजना भएको हो ।
वि.सं.२०७८ चैत १२ शनिवार ०७:३२
















