कांग्रेसलाई १३ सिटमा झारिदिनुपर्छ : खड्गप्रसाद ओली
वि.सं.२०७८ चैत ५ शनिवार १३:३७

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा झारिदिने चेतावनी दिएका छन् ।
पार्टीको सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै ओलीले ६० वर्ष नाघेका कुनै पनि ज्येष्ठ नागरिकहरुले कांग्रेसलाई भोट नहाल्ने दाबी गरे ।
अध्यक्ष ओलीले देशलाई बर्बाद पार्ने गठबन्धन सरकारको नेतृत्व गरिरहेको कांग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा सीमित हुने गरी चुनावी अभियानमा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।
कांग्रेस, माओवादी केन्द्रलगायतका सत्तारुढ दलहरुले चेताइसकेको हुनाले युवाहरुले पनि ती पार्टीहरुलाई मत नदिने उनको तर्क छ ।
अध्यक्ष ओलीले माओवादी केन्द्रलाई गत संसदीय निर्वाचनमा आफूहरुले जोगाई दिएको र माधव नेपालहरु अवको निर्वाचन पछि समाप्त हुने बताए ।
‘एमालेलाई चौथो पार्टी बनाउँछु भन्छ कोही । अहिले चौथो पार्टी हो एमाले संसद्मा ? संसद्मा एमालेसँग ९८ सिट छ । अरुको धेरै भएकाको पनि ६१ सिट छ । कोही हामीले बनाइदिएको ४८ सिट लिएर हामीले टाँसिदिएको जुँगामा ताउ लाउँछ ।
त्यसकारण म साथीहरुलाई भन्न चाहन्छु–यो गठबन्धन केही होइन । बूढो कांग्रेस पाँच वर्षअघि २३ सिटमा झरेको होइन ? कांग्रेसलाई १३ सिटमा झारिदिनु पर्छ अहिले, लाग्नुस तपाईंहरु ।
बूढाबूढी, ज्येष्ठ नागरिकहरुले साठी वर्ष माथिका ज्येष्ठ नागरिकहरुले कांग्रेसलाई भोट हाल्दैनन्। अनि युवाहरु कांग्रेस, माओवादीबाट चेतिसकेका छन् ।
उनीहरुले पनि काँग्रेसलाई भोट हाल्दैनन् ।’
वि.सं.२०७८ चैत ५ शनिवार १३:३७

















