काेल्हवी नगरपालिकाले अनुदानमा गहुँकाे बीउ वितरण गर्ने
वि.सं.२०८० मंसिर २ शनिवार ०९:०२
बारा-बाराकाे कोल्हवी नगरपालिकाले अनुदानमा गहुँकाे बीउ वितरण गर्ने भएको छ ।
कृषि विकास शाखाको आर्थिक वर्ष २०८०/०८१ को शसर्त कार्यक्रम तर्फको खाद्यान्न बालीको उन्नत विउ उपयोगमा ५० प्रतिशत अनुदानमा गहुँ वितरण गर्न लागेकाे प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवले सूचना निकालेर जानकारी गराएका छन् ।
नगरपालिकाले असाेज १६ देखि २६ गतेसम्म विउकाे लागि आवेदन आह्वान गरेकाेमा दुई सय पाँच वटा निवेदन परेकाे कृषि शाखा प्रमुख जयबीर चाैधरीले जानकारी दिए ।
उन्नत गहुँको विउ वितरणका लागि ४० किलाे दरका ५ सय बाेरा खरिद गरेकाे शाखा प्रमुख चाैधरीले बताए । उनका अनुसार किसानले बढीमा ८ बाेरासम्म माग गरेका छन् । गहुँ प्रति कठ्ठा ४ किलाेका दरले राेप्नु पर्नेछ । `किसानकाे आवेदन कम परेकाे छ, आवश्यकता र अवस्था हेरेर बीउ वितरण गर्ने याेजना छ´, प्रमुख चाैधरीले भने-प्रति किसान दुई बाेरा दिने याेजना भएपनि कतिपय किसानकाे आवश्यकता बढी पनि छ ।
नगरपालिकाले बिजय र एन.एल. ९७१ जातकाे गहुँको बीउ प्रति केजी रु. ७० मा खरिद गरेकाे र किसानलाई रु. ३५ का दरले कृषि विकास शाखा भवनबाट विहीबार वितरण गर्ने सुचनामा उल्लेख छ ।
वि.सं.२०८० मंसिर २ शनिवार ०९:०२